अर्जेन्टिनाका महान् फुटबलर तथा पूर्वकप्तान एन्टोनियो उबाल्डो रेटिनको ८९ वर्षको उमेरमा निधन भएको छ। उनको निधनले अर्जेन्टिनासहित विश्व फुटबल जगतमा शोकको लहर छाएको छ। रेटिन देशकै सर्वोत्कृष्ट मिडफिल्डर र कप्तानहरूमध्ये एक मानिन्थे।

उनले सन् १९५९ देखि १९६९ सम्म अर्जेन्टिनी राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका थिए। त्यस क्रममा उनले सन् १९६२ र १९६६ को विश्वकप समेत खेलेका थिए। अर्जेन्टिना फुटबल महासंघ (एएफए) ले उनको निधनमा गहिरो दुःख व्यक्त गरेको छ। एएफएका अध्यक्ष क्लाउडियो ट्यापियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “अर्जेन्टिना फुटबल महासंघ आफ्ना ऐतिहासिक प्रतीक तथा फुटबल आइकन एन्टोनियो उबाल्डो रेटिनको निधनमा गहिरो शोक व्यक्त गर्दछ।”

रेटिनले आफ्नो पूरा व्यावसायिक खेल जीवन ब्यूनस आयर्सको घरेलु क्लब ‘बोका जुनियर्स’ मा बिताएका थिए। उनले सन् १९५६ देखि १९७० सम्म उक्त क्लबका लागि ३८२ खेल खेल्दै २८ गोल गरे। यस अवधिमा उनले चार पटक लिग उपाधि जिताउनुका साथै सन् १९६३ मा टोलीलाई कोपा लिबर्टाडोसको फाइनलसम्म पुर्याएका थिए। खेलाडी जीवनबाट सन्न्याश लिएपछि राजनीतिमा प्रवेश गर्नुअघि उनले बोका जुनियर्समै प्रशिक्षकको भूमिका समेत निर्वाह गरेका थिए।
