झापा, अर्जुनधारा । इन्डो–नेपाल यू–१३ टी–२० च्याम्पियन्स कप अन्तर्गत मंगलबार सम्पन्न खेलमा मिलान क्रिकेट क्लबले आस्था क्रिकेट एकेडेमीमाथि ४४ रनको प्रभावशाली जित दर्ता गरेको छ।
अर्जुनधारा–९ स्थित नमुना खेल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मिलान क्रिकेट क्लबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४९ रनको प्रतिस्पर्धात्मक योगफल खडा गरेको थियो। टोलीका लागि निरज भट्टराईले ४३ रनको उत्कृष्ट इनिङ्स खेले भने शुभम बरालले ३२ र अनुपम भट्टराईले २५ रनको योगदान दिए।
आस्था क्रिकेट एकेडेमीका तर्फबाट बलिङमा चाबिलाल घिमिरे, लोमस तिम्सिना र अश्विन कटवालले समान १–१ विकेट लिए।
१५० रनको लक्ष्य पछ्याएको आस्था क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०५ रन मात्र बनाउन सक्यो। टोलीका लागि युनिक गौतमले ४२ रन बनाए भने रियान्स पाण्डेले १५ र अनुपम भट्टराईले १३ रन जोडे।
मिलान क्रिकेट क्लबका बलरहरूले कसिलो प्रदर्शन गर्दै विपक्षीलाई सुरुदेखि नै दबाबमा राखे। निरज भट्टराईले २ विकेट लिए भने नासिब सेदाइ र सार्थक पराजुलीले समान १–१ विकेट हात पारे।
यस जितसँगै मिलान क्रिकेट क्लबले प्रतियोगितामा आफूलाई बलियो दाबेदारका रूपमा प्रस्तुत गरेको छ।
अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा तथा बोस्टन क्रिकेट एकेडेमीको सह–आयोजनामा प्रतियोगिता सञ्चालन भइरहेको छ। प्रतियोगितामा नेपालका ८ र भारतका २ टोली गरी कुल १० टोलीको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ तथा उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।


















