झापा । झापाको कचनकवल गाउँपालिका–३ डाँगीवारीमा नवजात शिशु मृत अवस्थामा फेला परेको छ। स्थानीय खेलबहादुर राजवंशीको घर पछाडि परालको कुन्यु छेउमा हरियो कपडाको सलले बेरेर राखिएको अवस्थामा नवजात शिशु (छोरा) मृत भेटिएको हो।
प्रहरीका अनुसार शिशु सालनालसहित फ्याँकिएको अवस्थामा फेला परेको थियो। प्रारम्भिक अनुसन्धानबाट उक्त शिशु सोही स्थानकी १७ वर्षीया किशोरीको भएको खुलेको छ। कानुनी प्रक्रिया पूरा गरी शिशुको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।
घटनासम्बन्धी अनुसन्धानका लागि कचनकवल गाउँपालिका–४ केचना निवासी १८ वर्षीय हेम राजवंशीलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापा ल्याएको छ। शिशु जन्माएकी किशोरी सुत्केरी अवस्थामा रहेकाले उपचार र स्वास्थ्य अवस्था सामान्य भएपछि पक्राउ गरिने प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार अवैध सम्बन्धबाट गर्भमा रहेको शिशुलाई जन्माएर फ्याँकिएको आशंकामा घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।


















