काँकडभिट्टा । झापाको मेचीनगरबाट प्रहरीले प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित एक जनालाई नियन्त्रणमा लिएको छ । मलद्वारभित्र लुकाएर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा मेचीनगर नगरपालिका–१४ बस्ने २५ वर्षीय आकाश चौधरी पक्राउ परेका हुन् ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
मंगलबार (१९ जेठ) पौने १२ बजेको समयमा भारतबाट सिटी सफारी चढेर नेपालतर्फ आउँदै गरेका चौधरीलाई मेचीनगर–६ स्थित पुरानो मेचीपुलमा प्रहरीले शंका लागेर चेकजाँच गरेको थियो । सो क्रममा उनको मलद्वारभित्र लुकाई-छिपाई राखेको अवस्थामा प्लास्टिकबाहेक १६ ग्राम ४०० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने लिस्याइलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चौधरीलाई लागुऔषधसहित नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । एआईबाट निर्मित सांकेतिक तस्बिर

















