काँकरभिट्टा, झापा । झापाको मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुलबाट प्रहरीले ठूलो परिमाणको खैरो हिरोइनसहित एक जनालाई नियन्त्रणमा लिएको छ। लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको विशेष प्रहरी टोलीले शनिबार साँझ ६:०० बजेको समयमा भारतको पानीटंकीबाट भाडाको सिटी सफारीमा चढेर नेपालतर्फ आउँदै गरेका ३१ वर्षीय सनम बुर्जा मगरलाई पक्राउ गरेको हो।

सर्लाही जिल्ला ईश्वरपुर नगरपालिका-४ सागरनाथ टोल स्थायी घर भई हाल झापाको अर्जुनधारा-११ बसपार्क क्षेत्रमा डेरा गरी बस्ने मगरको शरीर खानतलासी गर्दा लुकाएर ल्याएको अवस्थामा लागूऔषध फेला परेको थियो। प्रहरीले डिजिटल तराजुमा नापतौल गर्दा प्लास्टिकसहित ८७ ग्राम ५४० मिलीग्राम र प्लास्टिक बाहेक ७३ ग्राम ७७० मिलीग्राम खैरो हिरोइन जस्तो देखिने टाँसिने पदार्थ बरामद गरेको छ।

पक्राउ परेका मगरलाई आवश्यक कानुनी कारबाहीका लागि लागूऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ। यस घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। सीमा नाकामा कडाइ गरिएसँगै पछिल्लो समय लागूऔषध ओसारपसारमा संलग्नहरू विभिन्न बहानामा समातिने क्रम बढ्दो छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
5
+1
0
+1
0
+1
4
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार