भद्रपुर, भदौ ११ । कोशी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आम सञ्चार विधेयक को विरोधमा झापाका पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय, भद्रपुरको मुख्य गेट अगाडि विहीवार एक घण्टा धर्ना दिएका छन्।

पत्रकारहरूले सो विधेयकलाई पत्रकारितामाथि नियन्त्रण गर्न खोजिएको भन्दै आपत्ति जनाएका हुन्। धर्नामा सहभागी पत्रकारहरूले ‘पत्रकारिता नियन्त्रण गर्ने विधेयक खारेज गर’, ‘स्वतन्त्र प्रेस हाम्रो अधिकार’ जस्ता नारासहित विरोध प्रदर्शन गरेका थिए।

नेपाल पत्रकार महासंघ झापा शाखाका पदाधिकारी तथा विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरूको उपस्थिति रहेको धर्नामा वक्ताहरूले प्रस्तावित विधेयकले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर खतरा उत्पन्न गर्ने बताएका छन्।
उनीहरूले प्रदेश सरकारलाई विधेयक तुरुन्त फिर्ता लिन आग्रह गर्दै चेतावनी दिएका छन्, “पत्रकारिता नियन्त्रण गर्ने प्रयास सफल हुन सक्दैन।”