गत फागुन २८ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले निषेधको व्यवहार देखाएपछि समानान्तर गतिविधि गरिरहेको खनाल–नेपाल समूहले ठूला कार्यक्रम नगर्ने भएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट झन् संक्रामक बन्दै गएपछि प्रकोप न्यूनीकरणका लागि ठूला कार्यक्रम, गतिविधि पूर्णतः रोकिएको खनाल–नेपाल समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले जानकारी दिए ।

बुधबार रवीभवन उकालोस्थित मेगा बैंक्वेटमा बसेको उपलब्ध स्थायी कमिटी बैठकले फागुन २८ पछिको गतिविधिको समीक्षा पनि गरेको थियो । यसबीचमा उत्साहजनक रूपमा देशव्यापी एमाले पुनर्गठन अभियान चलेको, ७७ जिल्लामा कमिटी गठन–पुनर्गठन भएको, प्रदेश कमिटीहरूले पनि पूर्णता पाएको र ‘स्ट्रेन्थ’ विस्तार भएको निष्कर्ष निकालिएको भट्टराईको भनाइ थियो । हाल कोरानाको नयाँ लहरको जोखिम बढेकाले अभियानअन्तर्गतका ठूला कार्यक्रम रोक्ने निर्णय भएको उनले बताए । कोभिड संक्रमण कम भएका जिल्लामा साना बैठकहरू भने गरिने उनले जानकारी दिए ।

आजको बैठकले कोभिड न्यूनीकरणमा विशेष ध्यान दिन सरकारलाई ध्यानकर्षण पनि गराइएको उनले बताए । ‘कोभिड भयावह बन्दै छ,’ भट्टराईले भने, ‘यसको रोकथाम, नियन्त्रणका लागि ध्यान दिन सरकारलाई आग्रह गरेका छौँ । कोभिड नियन्त्रणका लागि केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय गर्न पनि सरकारको ध्यानाकर्षण गरेका छौँ ।’

आजको बैठकले पार्टी अध्यक्षले नवौं महाधिवेशनले निर्दिष्ट गरेका कुराहरू विपरीत रहेर गतिविधि गरिरहेकाले त्यस्ता कार्यकलाप यथाशीघ्र रोक्न भनेको भीम रावलले जानकारी दिए । ओलीले स्वेच्छाचारी गतिविधि गरिरहेकाले यो जारी रहँदासम्म समानान्तर गतिविधिले निरन्तरता पाउने रावलको निचोड थियो ।

आजको बैठकमा खनाल–नेपाल समूहका धेरै नेता अनुपस्थित थिए । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, बेदुराम भुसाललगायत मात्रै नेता उपस्थित रहेको बताइएको छ । वरिष्ठ नेता झलनाथ खनाल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, रघुजी पन्त, मुकुन्द न्यौपानेलगायत नेता उपस्थित थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार