-देवेन्द्र किशोर ढुङगाना
मायाको पनि भाखा हुन्छ, आँखै–आँखामा इशारा हुन्छ,
बोली नखोली बुझिन्छ मन,
मुटुको आफ्नै सहारा हुन्छ।
ओठ चुप लागे पनि भाव बोल्छ,
निशब्दतामा कथा हुन्छ,
तिमी नजिक हुँदा मात्र थाहा हुन्छ,
एक सासमा कति माया हुन्छ।

हात समात्दा समय रोकिन्छ,
पल–पल सपना बुनिन्छ,
तिमी हाँस्दा बिहान उज्यालो,
तिमी रूँदा रात पनि रुन्छ।
यो संसार जति ठूलो भए पनि,
मुटु तिम्रै वरिपरि घुम्छ,
नाम नलिई पुकार्दा पनि,
तिमी मात्र तिमी सुनिन्छ।

मायाको पनि भाखा हुन्छ, आँखै–आँखामा इशारा हुन्छ,
नबोले पनि मनले मनलाई,
हरेक पल स्वीकार हुन्छ।
लयमा बाँधिन्छ जिन्दगी,
स्वरमा मिसिन्छ सास,
तिमी र म जब एउटै हुन्छौँ,
त्यहीँबाट सुरु हुन्छ मायामा बिश्वास।

पहिलो भेटको त्यो क्षण अझै,
नशामा जस्तै बाँचिरहेछ,
एक नजरले बाँधेको मन,
आजसम्म पनि धड्किरहेछ।
हावाले छोए जस्तो स्पर्श,
बादलले ढाकेजस्तो लाज,
तिमी अघि आउँदा हरेक पल,
बन मेरो जीवनको राज।

न त वाचा चाहिन्छ धेरै,
न त कसमका भारी शब्द,
साथ बसेर मौन रहनु,
त्यही नै हो प्रेमको अर्थ।
तिमी बोल्दा स्वर मिठो,
म चुप लाग्दा अर्थ गहिरो,
हामी दुई बीचको दूरी पनि,
मायाले बनाएको सेतु जस्तो।

मायाको पनि भाखा हुन्छ, आँखै–आँखामा इशारा हुन्छ,
छायाँ जस्तै सँगै हिँड्ने,
नछुट्ने आधार हुन्छ।
लयमा बाँधिन्छ जिन्दगी,
स्वरमा मिसिन्छ सास,
तिमी र म जब एउटै हुन्छौँ,
त्यहीँबाट सुरु हुन्छ मायामा बिश्वास।

संसारले सोध्दा के हो माया,
म तिमीतिर औँला ठड्याउँछु,
सबै उत्तर त्यहीँ भेटिन्छ,
जहाँ तिम्रो नाम लेखाउँछु।
गल्ती भए माफी माग्छु,
कमजोरीमा साथ दिन्छु,
तिमी थाके जब जीवनदेखि,
म आफ्नो काँधमा सहारा दिन्छु।

न समयले यो माया मेटोस्,
न परिस्थितिले तोडोस् डोरी,
आँधी आए पनि सँगै उभिई,
लेखौँ आफ्नै प्रेमको कहानी।
हिजो, आज र भोलि पनि,
उही भरोसा, उही साथ,
मायाको भाखा बुझ्नेले मात्र,
चिन्नेछन् हाम्रो यो सम्बन्धको गहिरो अर्थ।

मायाको पनि भाखा हुन्छ, आँखै–आँखामा इशारा हुन्छ,
जुन दिनसम्म सास चलिरहन्छ,
त्यो दिनसम्म यो माया हुन्छ।
लयमा बाँधिन्छ जिन्दगी,
स्वरमा मिसिन्छ सास,
तिमी नै हौ मेरो गीतको अर्थ,
तिमी नै हौ मेरो विश्वास।
भद्रपुर, झापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार