भद्रपुर (झापा), जेठ ७ । ​झापाको भद्रपुर नगरपालिका–९ स्थित ग्यालेक्सी इङ्ग्लिस स्कूलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट सफलता हासिल गरेको छ । भद्रपुर नगरपालिकाभित्रका विद्यालयहरूमध्ये उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्दै विद्यालयले शतप्रतिशत नतिजा ल्याउन सफल भएको हो ।

​विद्यालय प्रशासनले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी परीक्षामा सहभागी कुल २३ जना विद्यार्थी नै उत्तीर्ण भएको जानकारी दिएको छ । उत्तीर्णमध्ये ८ जनाले ‘ए प्लस’ (A^+), १४ जनाले ‘ए’ (A) र १ जनाले ‘बी प्लस’ (B^+) ग्रेड प्राप्त गरेका छन् । सो अवसरमा एसईईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूलाई अबिर र फूलमाला लगाएर सम्मान गरिएको थियो भने ‘ए प्लस’ ग्रेड ल्याउने विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप जनही नगद २ हजार ५ सय रुपैयाँसहित प्रशंसापत्र प्रदान गरिएको थियो ।
​कार्यक्रमकी प्रमुख अतिथि भद्रपुर नगरपालिका शिक्षा शाखा प्रमुख पवित्र ढकालले ग्यालेक्सी स्कूलले नगरकै शैक्षिक साख उच्च राखेको भन्दै प्रशंसा गर्नुभयो । त्यस्तै, नेपाल पत्रकार महासङ्घ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, मेची बहुमुखी क्याम्पसका पूर्वप्राध्यापक एवं विद्यालयका अर्थशास्त्र शिक्षक कृष्णकुमार मैनाली, विद्यालयको कक्षा ११/१२ संकायका प्रिन्सिपल देवीप्रसाद सुवेदी, सहायक प्रिन्सिपल विवेक चम्लागाईं र बाल क्लबका अध्यक्ष एवं उत्कृष्ट अङ्कसहित उत्तीर्ण विद्यार्थी श्रीजन तामाङ लगायतले विद्यालयको शैक्षिक गुणस्तर र भावी योजनाबारे आफ्ना धारणा राख्नुभएको थियो ।

​विगतका वर्षहरूमा जस्तै यसपटक पनि नगरकै सर्वोत्कृष्ट नतिजा कायम राख्न सफल भएकोमा विद्यालय परिवारले खुसी व्यक्त गरेको छ । यसअघि २०८१ सालको एसईई परीक्षामा पनि यस विद्यालयले भद्रपुर नगरपालिकाभरिमै उत्कृष्ट स्थान हासिल गरेको थियो । एसईईमा मात्र नभई भद्रपुर नगरपालिका स्तरीय कक्षा ५ र कक्षा ८ को परीक्षामा समेत विद्यालयले लगातार उत्कृष्ट नतिजा ल्याउँदै आएको छ ।
​विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रौनक वंशलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण विद्यालयका को–अर्डिनेटर लक्ष्मण नेपालले गर्नुभएको थियो ।

​१४ वर्षमै लोभलाग्दो फड्को – २०६९ सालमा भद्रपुर नगरपालिका–८ को सगरमाथा चोकबाट सानो रूपमा सञ्चालन सुरु भएको यो विद्यालय २०७३ सालदेखि भद्रपुर–९ मा करिब ७ बिघा क्षेत्रफलमा फैलिएको आफ्नै फराकिलो र शान्त वातावरणमा स्थानान्तरण भएको थियो । हाल विद्यालयमा वातानुकूलित (एसी) सहितका स्मार्ट कक्षाकोठा, प्रविधिमैत्री शिक्षण प्रणाली, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला र सुविधासम्पन्न पुस्तकालय रहेका छन् ।

​विद्यालयले शैक्षिक उपलब्धिका अतिरिक्त विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि खेलकुद, सङ्गीत, नृत्य तथा अन्य सिर्जनात्मक गतिविधिहरूलाई पनि सँगसँगै लैजाने गरेको छ । नगरपालिका तथा निजी विद्यालयहरूको सङ्गठन (प्याब्सन/एन–प्याब्सन) स्तरमा हुने विभिन्न प्रतियोगिताहरूमा यहाँका विद्यार्थीहरूले उल्लेखनीय सफलता पाउँदै आएका छन् ।
​विद्यालयको आन्तरिक व्यवस्थापन ‘चेक एण्ड ब्यालेन्स’ (सन्तुलन र नियन्त्रण) को सिद्धान्तमा आधारित रहेको पत्रकार सम्मेलनमा बताइएको छ । को–अर्डिनेटरहरूको प्रत्यक्ष निगरानीमा टिम फ्रेममा काम हुने, सफाइ सुपरभाइजर र जनसम्पर्क अधिकारी (पीआरओ) मार्फत दैनिक कार्य सम्पादन भई प्रिन्सिपल र प्रबन्ध निर्देशक (एमडी) सम्म रिपोर्टिङ हुने व्यवस्थित प्रणालीका कारण शैक्षिक गुणस्तर कायम रहेको विद्यालयको दाबी छ ।

​धाइजन, चारआली, धुलाबारी, प्रगति टोल र चन्द्रगढीको केन्द्रभाग (चारआलीबाट ४ किमी दक्षिण र चन्द्रगढीबाट ३ किमी उत्तर) मा अवस्थित यस विद्यालयले आगामी शैक्षिक सत्रका लागि कक्षा ११ मा व्यवस्थापन सङ्कायतर्फ व्यवसाय अध्ययन र कम्प्युटर शिक्षा विषयमा भर्नासमेत खुला गरेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार