काठमाडौँ ।बढ्दो जलवायु परिवर्तनले मानव जीवनमा गम्भीर असर पारिरहेका बेला अपाङ्गता भएका व्यक्तिहरू र आदिवासी समुदायले भोग्नुपरेको समस्यालाई चित्रकलामार्फत सशक्त रूपमा उजागर गरिएको छ । नेपाल आदिवासी अपाङ्ग महिला संघ (निडवान) को आयोजनामा ललितपुरको पाटन दरबार स्क्वायरस्थित प्रसिद्ध कृष्ण मन्दिर परिसरमा एक विशेष चित्र लेखन तथा सचेतना कार्यक्रम सम्पन्न भएको हो । ‘समावेशीकरणको कला: जलवायु परिवर्तन र अपाङ्गता भएका विविध व्यक्तिहरूको अनुभव’ भन्ने नाराका साथ आयोजना गरिएको यस कार्यक्रममा एक दर्जनभन्दा बढी व्यावसायिक कलाकारहरूले क्यानभासमार्फत जलवायु संकटको वास्तविक तस्बिर उतारेका थिए ।

​कार्यक्रमका प्रमुख अतिथि एवं ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति तथा वरिष्ठ कलाकार केके कर्माचार्यले जलवायु परिवर्तनको मार सबैलाई परे पनि शारीरिक र मानसिक रूपमा फरक क्षमता भएका व्यक्तिहरू सबैभन्दा बढी जोखिममा रहेको बताउनुभयो । उहाँले प्रकृतिमा आउने विपत्तिले कसैलाई नछुट्याउने भए पनि संकटको समयमा सुरक्षित स्थानमा पुग्न र जोगिन अपाङ्गता भएका व्यक्तिहरूलाई निकै कठिन हुने यथार्थ औँल्याउँदै आफूले कोरेको चित्रमार्फत पृथ्वी, सूर्य र खोलानालामा परेको वातावरणीय असरबारे प्रकाश पार्नुभयो । अर्का अतिथि दीपक ज्ञवालीले पनि जलवायु परिवर्तनले कोदो, मकै र धानजस्ता रैथाने बालीमा पारेको नकारात्मक असरले खाद्य सुरक्षामा समेत चुनौती थपेको भन्दै सचेत रहन आग्रह गर्नुभयो ।

​निडवानकी अध्यक्ष एवं त्रिभुवन विश्वविद्यालयकी सह-प्राध्यापक प्रतिमा गुरुङले जलवायु परिवर्तनबारे मौखिक जानकारीभन्दा चित्रमार्फत व्यक्त गर्दा यसले मानिसको मनमा गहिरो अनुभूति गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । आदिवासी र अपाङ्गता भएका महिलाहरूले समाजमा दोहोरो–तेहरो विभेद र जोखिम भोगिरहेको अवस्थामा जलवायु संकटले उनीहरूको जीवन झन् जटिल बनाएको उहाँको भनाइ थियो । कार्यक्रममा कलाकार लक्ष्मी लामिछानेले बढ्दो तापक्रमका कारण हिमालको हिउँ पग्लेर रातो देखिएको भयावह दृश्य उतार्नुभएको थियो भने मिथिला कलाकार मोनिका शाहले तराईका अपाङ्गता भएका महिलाको जीवन संघर्षलाई कलामा समेट्नुभएको थियो । त्यस्तै रिया विश्वकर्मा, जनक जोशी, मनोहर प्रजापति र विशाल थामी लगायतका कलाकारहरूले बाढी पहिरोजस्ता विपत्तिमा अपाङ्गता भएका व्यक्तिहरूले भोग्नुपर्ने सकस र प्राकृतिक स्रोतको संरक्षणमा सबै प्राणीको साझा दायित्व हुनुपर्ने सन्देश चित्रमार्फत प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार