समाचार
हल्दिबारी संवाददाता ५ महिना अगाडि

झापा–११ टाइब्रेकरमा विजयी हुँदै झापा गोल्डकप सेमिफाइनल प्रवेश


बिर्तामोड, माघ २६ । आयोजक टिम झापा–११ फुटबल क्लबले आज बिर्तामोडमा जारी सातौँ एक्स्ट्रिम झापा गोल्डकपको पहिलो क्वार्टरफाइनलमा सिक्किमको सिङलिङ स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
निर्धारित ९० मिनेट गोलरहित बराबरीपछि खेलको निर्णय सोझै टाइब्रेकरबाट गरिएको थियो। टाइब्रेकरमा झापाका रोमन भुजेल, सौरभ धिमाल, राजेश दाहाल र विवेक मगरले गोल गर्न सफल भए भने सिङलिङका सोनुहाङ सुब्बा, हेल्मेट सुब्बा र सुरज तामाङले पनि गोल गरे। सिङलिङका सुजन सुब्बाको प्रहार झापाका गोलकिपर विवेक मगरले रोके भने दिपेश क्षेत्रीको प्रहार बाहिरिएको थियो।
खेल अवधिभर झापाले विपक्षीलाई दबाबमा राख्यो र आधा दर्जन प्रहार खेर गयो। खेलको २८ औँ मिनेटदेखि झापाले विरोधीमाथि आक्रमण सुरु गरेको थियो। विदेशी खेलाडी ओलावाले डिबक्सबाट गरेको शक्तिशाली प्रहार सिङलिङका गोलकिपर विल्सन शेर्पाले रोक्न सफल भए। ३८ औँ मिनेटमा झापाका समिर तामाङको प्रहार रोकिए पनि ४९ औँ मिनेटमा गोलकिपर बिट भएपछि उनको हेडर बाहिरियो। निर्धारित ९० मिनेटको अन्ततिर मौसम सुब्बाको प्रहार पनि गोलकिपरले रोक्न सफल भए।
खेलको ५९ औँ मिनेटमा सिङलिङका कप्तान उत्तम राईले वान–टु–वानको मौका पाएका थिए, तर गोल गर्न सकेनन्। सिङलिङले विपक्षी पोष्टमा ठुलो अवसर सिर्जना गर्न सकेन।
प्लेयर अफ द म्याच झापा–११ का गोलकिपर विवेक मगर घोषित भए र उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाएका छन्। भोलि मंगलबार दोस्रो क्वार्टरफाइनल त्रिभुवन आर्मी फुटबल क्लब र लालीगुराँस एसोसिएसन नेपाल पोखराबीच हुनेछ।
प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। उत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल पाउनेछन् भने उत्कृष्ट कोच, हाई स्कोरर र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन्।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)