समाचार
हल्दिबारी संवाददाता ५ महिना अगाडि

झापा–३ मा सिटौलाविहीन चुनाव : लिङ्देनको दाबी, कांग्रेसको चुनौती र हल्दीबारीको निर्णायक मत

झापा ः प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ यसपटकको चुनावमा विशेष अर्थ बोकेको क्षेत्र बनेको छ। २०४८ सालदेखि निरन्तर चुनावी मैदानमा रहँदै आएका कांग्रेस नेता कृष्णप्रसाद सिटौला प्रतिस्पर्धाबाट बाहिरिएपछि यहाँको राजनीतिक समीकरण पूर्णतः फेरिएको छ। सिटौलाविहीन चुनावले नयाँ सम्भावना, नयाँ चुनौती र नयाँ अनिश्चितता जन्माएको छ।

निर्वाचन आयोगको तथ्याङ्कअनुसार झापा क्षेत्र नम्बर ३ मा कुल एक लाख ४० हजार ८५७ मतदाता, ६७ मतदान स्थल र १६४ मतदान केन्द्र रहेका छन्। यस निर्वाचन क्षेत्रमा भद्रपुर नगरपालिका–१ देखि ८, बिर्तामोड नगरपालिका–१०, हल्दीबारी गाउँपालिका–१ देखि ५, कचनकवल गाउँपालिका–१ देखि ७ तथा बाह्रदशी गाउँपालिका–१ देखि ७ समेटिएका छन्।

विज्ञापन (Advertisement)Advertisement

१७ उम्मेदवारबीच कडा प्रतिस्पर्धा

यसपटक झापा–३ मा १७ जना उम्मेदवार चुनावी मैदानमा छन्।

राप्रपाबाट केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, नेपाली काँग्रेसबाट राजेन्द्रकुमार घिमिरे, नेकपा (एमाले) बाट हरीबहादुर राजवंशी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाश पाठक, नेकपा (माओवादी केन्द्र) बाट सन्तोष कटुवाल, नेपाली कम्युनिष्ट पार्टीबाट डिल्लीराम घिमिरे, जनता समाजवादी पार्टी, नेपालबाट कर्णलाल राजवंशी, जनमत पार्टीबाट हरसलाल राजवंशी उम्मेदवार छन्।

त्यसैगरी उज्यालो नेपाल पार्टीका श्यामकृष्ण पाठक, जनता समाजवादी पार्टीका विनिता कुमारी राजवंशी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी चन्द्रकला सावा, नेशनल रिपब्लिक पार्टीका जयेन मगर, श्रम संस्कृति पार्टीका दिपक तिम्सिना, नेपाल मजदुर किसान पार्टीकी धर्मलक्ष्मी दुवाल ९लघु०, मंगोल नेशनल अर्गनाइजेसनका यामकुमार श्रेष्ठ तथा अभय राजवंशी र मानप्रकाश संग्रौला स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी दौडमा छन्।

सिटौलाको अनुपस्थिति र बद्लिँदो राजनीतिक परिदृश्य

झापा–३ को राजनीति लामो समयसम्म सिटौला केन्द्रित रहँदै आएको थियो। २०७४ र २०७९ का निर्वाचनमा पराजय बेहोरे पनि सिटौलाको प्रभाव क्षेत्रीय राजनीतिमा निर्णायक मानिन्थ्यो। तर यसपटक उनी प्रतिस्पर्धामा नरहँदा कांग्रेस संगठनले नयाँ नेतृत्वमार्फत आफ्नो शक्ति प्रमाणित गर्नुपर्ने अवस्था आएको छ।

यसको प्रत्यक्ष लाभ भने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पुगेको विश्लेषण गरिँदै आएको छ। अघिल्ला दुई निर्वाचनमा सिटौलालाई पराजित गर्दै आएका लिङ्देन र एमालेबीचको गठबन्धनले उनको स्थिति झनै मजबुत बनाएको देखिन्छ।

लिङ्देनको आत्मविश्वास र विपक्षीको चुनौती

राजेन्द्र लिङ्देन यसपटक पनि आफू विजयी हुने दाबी गरिरहेका छन्। सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले भनेका छन्, “म अहिले कुनै प्रतिस्पर्धीको डरमा छैन। मैले जित्नेमा पूर्ण विश्वास छ।”

उनको यो आत्मविश्वास र आक्रामक प्रचार–प्रसारले समर्थकहरूलाई उत्साहित बनाएको छ।

तर अर्कोतर्फ, कांग्रेसको संगठनात्मक संरचना अझै बलियो रहेको र विगतका चुनावमा आन्तरिक अन्तर्घातले मात्र पार्टीलाई कमजोर बनाएको तर्क पनि प्रस्तुत हुँदै आएको छ। यही कारण झापा–३ को चुनावी समीकरण सरल नभई पेचिलो बनेको छ।

हल्दीबारी निर्णायक केन्द्र

झापा–३ को चुनावी परिणाम निर्धारण गर्ने मुख्य केन्द्र हल्दीबारी गाउँपालिका मानिँदै आएको छ। यहाँको मत परिणामले लिङ्देनको तेस्रो कार्यकाल सुनिश्चित गर्ने कि रोक्ने भन्ने कुराको संकेत गर्नेछ।

यदि हल्दीबारीमा लिङ्देनको समर्थन बलियो रह्यो भने उनको जितको बाटो सहज हुनेछ, अन्यथा नतिजा उल्टिन सक्ने विश्लेषण भइरहेको छ।

झापा निर्वाचन क्षेत्र नम्बर ३ मा यसपटकको चुनाव अत्यन्त प्रतिस्पर्धात्मक र चासोपूर्ण हुने निश्चित देखिन्छ। सिटौलाको अनुपस्थितिले नयाँ खेलाडीहरूलाई अवसर दिएको छ भने लिङ्देन नेतृत्व बलियो देखिएको छ। कांग्रेससहित अन्य दलका उम्मेदवारहरूले पनि अन्तिम समयसम्म आफ्नो शक्ति प्रदर्शन गरिरहेका छन्।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)