झापा, झापाको कमल गाउँपालिका–६ स्थित एक घरबाट ठूलो मात्रामा प्रतिबन्धित औषधिसहित दुई जना पक्राउ परेका छन्।

लागूऔषध लुकाएर राखिएको छ भन्ने गोप्य सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त टोलीले बिहीबार राति करिब ९ बजेतिर विष्णु प्रसाद बगालेको घरमा छापा मारेको थियो।

तलासीका क्रममा घरधनी विष्णु प्रसाद बगाले र दमक–६ थानारोडका गंगा बहादुर खड्कालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। खड्का दमक मेडिकल डिस्ट्रीब्युटरका सञ्चालक रहेको खुलेको छ।
प्रहरीका अनुसार तलासीमा निम्न परिमाणमा प्रतिबन्धित औषधि फेला परेका थिएः
Tramol-50 (Tramadol Hydrochloride Capsules I.P.) — ३,००० क्याप्सुल
Dicyclomine Hydrochloride Tablets I.P. — २,११० ट्याब्लेट
SPASPAIN — २,०५० ट्याब्लेट
बरामद गरिएका औषधिहरु लागूपदार्थको सूचीमा पर्ने र नियन्त्रणबिना प्रयोग गर्न पाइँदैन। पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।