झापा । झापाको दमक नगरपालिका–१ स्थित सुकुम्बासी बस्तीबाट प्रहरीले लुटिएको सर्टगनको एक भाग बरामद गरेको छ। गोप्य सूचनाका आधारमा गरिएको खानतलासीका क्रममा उक्त हातहतियार फेला परेको हो।
प्रहरीका अनुसार मिति २०८२ साल माघ २ गते बिहान करिब १० बजे इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायब उपरीक्षक किशोर लम्सालको कमाण्डमा खटिएको टोलीले डेक बहादुर थापा बस्दै आएको टहरामा खानतलासी गरेको थियो। जस्ताको बेराले बनेको र जस्ताकै छानो भएको उक्त टहराभित्र भुईँमा बालुवाले पुरेर राखिएको अवस्थामा सर्टगनको बट भाग फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएको सर्टगनको बट भागमा १३२०४४७ नम्बर उल्लेख रहेको छ। प्रहरी अभिलेखअनुसार उक्त हातहतियार यसअघि मिति २०८२ साल भदौ २४ गते Gen-Z आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको थियो।
प्रहरीले बरामद हातहतियारको पार्टपुर्जालाई कानून बमोजिम नियन्त्रणमा लिई सुरक्षित रूपमा कार्यालयमा राखिएको जनाएको छ। घटनासँग सम्बन्धित भनिएका डेक बहादुर थापा हाल फरार रहेकाले उनको खोजतलास भइरहेको प्रहरीले बताएको छ।
प्रहरीले यस घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
झापाको दमकमा लुटिएको सर्टगनको पार्टपुर्जा बरामद, एक व्यक्ति फरार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1

















