झापा । झापाको भद्रपुर नगरपालिका–१० सत्रविघेमा भएको सिरिन्ज आक्रमणमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थानका बासिन्दा खेम ढकाल रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ ढकाल छिमेकीको घरबाट आफ्नै निवासतर्फ फर्किने क्रममा अज्ञात व्यक्तिहरूको आक्रमणमा परेका थिए। आक्रमणबाट गम्भीर घाइते भएका ढकाललाई उपचारका लागि अस्पताल लैजाने प्रयास गरिए पनि बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा सिरहाका २६ वर्षीय दीपेशकुमार सिंहलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
उनका अनुसार आक्रमणमा प्रयोग गरिएको सिरिन्जमा के प्रकारको पदार्थ थियो भन्ने विषयमा हालसम्म यकिन भइनसकेको र त्यसबारे परीक्षण प्रक्रिया अघि बढाइएको छ।
प्रहरीले घटनाको कारण र आक्रमणको उद्देश्यबारे अनुसन्धान जारी रहेको जनाएको छ।


















