झापा, ५ असोज । झापा जिल्ला हल्दीबारी गाउँपालिका–२, जिवनबारीमा ९ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
सशस्त्र प्रहरी वरिष्ठ हवलदार बिरेन राजवंशीका छोरा आयुष राजवंशी आइतबार राति करिब ९ बजे आफ्नै घरको मुलढोकामा साडीको पासो लगाई मृत अवस्थामा भेटिएका हुन्।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी हल्दीबारीबाट खटिएको टोलीले स्थल सुरक्षित राखेको थियो। साथै, थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले राति करिब १०:५० बजे सम्पूर्ण कानुनी प्रक्रिया सम्पन्न गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जनाएको छ।
स्थानीय जसोदा बोर्डिङ स्कुलमा कक्षा चारमा अध्ययनरत आयुषको मृत्युले गाउँ शोकमग्न भएको छ। यस्ता घटनाले बालबालिकामा समयमै मनोपरामर्श र विद्यालय स्तरमै मानसिक स्वास्थ्य शिक्षा सञ्चालनको आवश्यकता देखिएको सरोकारवालाहरूले बताएका छन्।