झापा, २४ फागुन । झापाका विभिन्न स्थानमा बिहीबार विद्युत सटका कारण तीनवटा आगलागी भएका छन्। घटनामा लाखौं रुपैयाँ बराबरको सम्पत्ति नष्ट भएको प्रहरीले जनाएको छ।
पहिलो घटना गौरिगंज गाउँपालिका–६ भारुचोकस्थित तुलसी साहको घुम्ती किराना पसलमा भएको हो। जस्ताको छानो र टिनको छानो भएको उक्त पसलमा दिउँसो करिब १:३० बजे आगो लागेको थियो। इलाका प्रहरी कार्यालय गौरिगंज, निर्वाचन प्रहरी र स्थानीय वासिको सहकार्यले २:०४ बजे आगो नियन्त्रणमा लिएको थियो। आगोले पसल, भित्रका किराना सामग्री र नगद रु. ४,००० गरी कुल रु. २,०४,००० बराबरको क्षति पुर्याएको छ।
दोस्रो घटना भद्रपुर नगरपालिका–९ बुद्धटोलस्थित मंकरध्वज आङदेम्बेको भान्साघरमा भएको थियो। चुलोबाट सल्किएको आगोले जस्ताको छानो र बासको चित्राले बनेको भान्साघरमा व्यापक क्षति पुर्यायो। स्थानीयवासी, प्र.चौ. घोडामाराका प्रहरी र भद्रपुर नगरपालिकाको दमकल टोलीको सहयोगमा करिब १:४५ बजे आगो नियन्त्रणमा आएको थियो। आगोले ग्यास सिलिण्डर, अन्नपात, लत्ताकपडा, भाँडा, साइकिल र फर्निचर जलेर नष्ट हुँदा रु. ३,००,००० बराबरको क्षति भएको छ।
तेस्रो घटना गौरादह नगरपालिका–७ सूर्यदयटोलस्थित पुष्प लाल चौलागाईको २ कोठे ग्वालीमा भएको हो। करिब १२:३० बजे बिद्युत सटबाट आगो सल्किनुका कारण ग्वाली र भित्रको धान ५ मन, चोकर १ बोरा ५० के.जी., झ्यालढोका र विद्युत मिटर बक्स जलेर नष्ट भए। स्थानीयवासी र गौरादह नगरपालिकाको दमकलको सहायताले करिब १:३० बजे आगो नियन्त्रणमा आएको थियो। यस घटनामा मानविय र चौपाया क्षति नभए पनि रु. १,५०,००० बराबरको वित्तीय क्षति भएको छ।
प्रहरीका अनुसार, ती सबै आगलागीहरू अचानक विद्युत सटबाट सुरु भएका हुन् र अनुसन्धान जारी रहेको छ।


















