समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

झापामा निर्माणाधीन गाउँपालिका भवनबाट खसेर मृत्यु भएका कामदारका परिवारलाई २२ लाख राहत दिइने

बाह्रदशी गाउँपालिका भवन दुर्घटना: ठेकेदारले २० लाख र पालिकाले २ लाख दिने, श्रम सुरक्षामा चासो

झापा। झापाको बाह्रदशी गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवनबाट खसेर ज्यान गुमाएका कामदार टंक थापाको परिवारलाई २० लाख रुपैयाँ क्षतिपूर्तिसहित कुल २२ लाख रुपैयाँ राहत उपलब्ध गराइने भएको छ।

​दुर्घटनापछि पीडित पक्ष, जनप्रतिनिधि र गाउँपालिका नेतृत्वबीच बुधबार बाह्रदशी गाउँपालिकाको सभाहलमा भएको छलफलमा निर्माण व्यवसायी (ठेकेदार) ले क्षतिपूर्तिबापत २० लाख रुपैयाँ उपलब्ध गराउने सहमति भएको हो। यसका साथै गाउँपालिकाले काजकिरिया खर्चबापत थप २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।

विज्ञापन (Advertisement)Advertisement

​मोरङको सुन्दरहरैँचा नगरपालिका–४ निवासी ४२ वर्षीय थापा मंगलबार बिहान बाह्रदशी गाउँपालिका–५ चकचकीस्थित निर्माणाधीन भवनको माथिल्लो तलामा रङ लगाउने क्रममा अचानक खसेर गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा मंगलबार दिउँसो उनको मृत्यु भएको थियो।

​घटनापछि उचित क्षतिपूर्ति र श्रम सुरक्षाको माग गर्दै मृतकका परिवार, आफन्त र जनप्रतिनिधिको टोली बुधबार गाउँपालिका कार्यालय पुगेको थियो। छलफलमा मृतककी पत्नी रमा थापा, छोरा अमित थापा, सुन्दरहरैँचा–४ का वडाध्यक्ष कैलाश बस्नेत, नवीन दाहाल, नागरिक समाजका प्रतिनिधि र राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय प्रतिनिधिहरूको सहभागिता थियो।

​बाह्रदशी गाउँपालिकाका अध्यक्ष देविन्द्र चम्लागाई, उपाध्यक्ष शान्तादेवी शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिया तथा प्रहरी प्रशासनका प्रतिनिधि सहित दुवै पक्षका करिब ५० जनाको उपस्थितिमा भएको वार्ता सकारात्मक रूपमा टुङ्गिएको हो।

​सहमति जुटेसँगै सहभागीहरूले निर्माणस्थलको सुरक्षा व्यवस्था, कामदारको अनिवार्य बीमा तथा श्रम सुरक्षा मापदण्डको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)