विर्तामोड, नेपाल पत्रकार महासंघ झापाले संविधान दिवस २०८२ खवरदारीका साथ मनाएको छ। विर्तामोडमा प्रभातफेरी सहितको र्याली र कोणसभाबाट कार्यक्रम सम्पन्न भएको हो।
हनुमान कम्प्लेक्स अगाडिबाट सुरु भएको र्याली मुक्ति चोक, अधुवा खोलाको पुल र इलाका प्रहरी कार्यालय बिर्तामोड हुँदै पुनः मुक्ति चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

कार्यक्रमको नेतृत्व पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले गरेका थिए। विभिन्न संघ संस्थाका प्रतिनिधि र संचारकर्मीहरू सहभागी थिए। सहभागीहरूले “प्रेस स्वतन्त्रता जिन्दावाद”, “संविधान दिवस जिन्दावाद”, “संविधानको रक्षा गर”, “प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर”, “भ्रष्टाचारको अन्त्य, सुशासन र शान्ति हाम्रो चाहना” जस्ता नारा लगाएका थिए।
कोणसभामा पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, झापा अध्यक्ष एकराज गिरी र मानव अधिकार सञ्जाल झापा संयोजक रुपक खनालले सम्बोधन गर्दै, लामो संघर्षपछि जारी भएको लोकतान्त्रिक संविधानको सुरक्षा सबै पक्षबाट सुनिश्चित हुनु पर्ने धारणा राखेका थिए।
कार्यक्रमले पत्रकारिता स्वतन्त्रता र संविधानको रक्षा प्रतिको समुदायको प्रतिबद्धता प्रष्ट पारेको छ।
नेपाल पत्रकार महासङ्घ झापा का उपाध्यक्ष शुब्रत न्यौपानेले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण सचिव राजु पाठकको रहेको थियो।