शिवसताक्षी, झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ७ लालपानीमा गएराति विद्युत सर्ट भई भीषण आगलागी हुँदा एक घर जलेर पूर्ण रूपमा नष्ट भएको छ। स्थानीय ४५ वर्षीय घनश्याम खतिवडाको टिनको छानो र बाँसको टाँटी बेरा भएको पुरानो खाली एक तले घरमा मंगलबार राति साढे ७ बजे अचानक आगो सल्किएको थियो। बिजुलीको तार सर्ट भएर सुरु भएको आगोले क्षणभरमै घरलाई चपेटामा लिएको थियो।


​घटना लगत्तै खटिएको नेपाल प्रहरीको टोली, स्थानीय बासिन्दा र शिवसताक्षी नगरपालिकाको बारुणयन्त्रको अथक प्रयासपछि राति ८ बजेर २० मिनेटमा आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। आगलागीबाट घरभित्र रहेका सम्पूर्ण फर्निचर र लत्ताकपडा जलेर नष्ट भएका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उक्त आगलागीबाट मानवीय तथा चौपाया क्षति भने हुन पाएन।


​प्रहरीको प्रारम्भिक मुचुल्का अनुसार घर र भित्र रहेका सामानहरू नष्ट हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको अनुमान गरिएको छ। आगो नियन्त्रणमा आएपछि थप जोखिम टरेको भए पनि खतिवडाको पुरानो घर भने बस्नै नमिल्ने गरी क्षतिग्रस्त भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार