हल्दीबारी । अविरल वर्षापछि आएको बाढीले झापा जिल्लामा यो वर्ष भीषण विपत्ति मच्चाएको छ। स्थानीय अधिकारीहरूका अनुसार यो बाढी २०७४ सालको बाढीभन्दा समेत ठूलो र विनाशकारी बनेको छ।
जिल्लाका कनकाई माई र मेची नदीमा खतराको स्तर नाघेपछि करिब ३५ सय परिवारका १२ हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। शनिबार र आइतबार इलाम र झापामा १५० मिलिमिटरभन्दा बढी वर्षा भएपछि नदीहरूको जलस्तर तीव्र रूपमा बढेको हो।

जल तथा मौसम विज्ञान विभागका अनुसार कनकाईको जलस्तर ५.६१ मिटर पुगेको छ, जुन खतरा स्तर ४.३ मिटरभन्दा निकै माथि हो। २०७४ सालमा पनि ५.४ मिटर पुगेको थियो। यसपालि त्यसभन्दा पनि बढी भएपछि ठूला क्षति भएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताए।
मेची नदीको जलस्तर ११४.८४ मिटर पुगेको छ, जसले झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाका बस्तीहरूलाई विशेष प्रभावित बनाएको छ।
डुबानमा सयौं बस्ती :
कनकाई माई नदीले तटीय बस्तीहरूमा पसेर झापा गाउँपालिका–१, २ र ७ का करिब १५ सय घर डुबानमा पारेको छ। करिब ६ हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ।
झापा–१ मिलन बस्तीका ८० घरका २०० जनालाई नेपाली सेनाको हेलिकप्टर र चार वटा बोट प्रयोग गरेर उद्धार गरिएको छ।
शिवसताक्षी, गौरीगञ्ज, अर्जुनधारा, गौरादह र भद्रपुरका विभिन्न वडामा सयौं घर बाढीले डुबाएको डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
हालसम्म एक अज्ञात पुरुषको शव फेला परेको छ। कनकाई नगरपालिका–४ को कोटीहोमस्थित कनकाई माई खोलाको किनारमा अन्दाजी ६०–६५ वर्षका पुरुष मृत अवस्थामा भेटिएको हो।
उद्धारमा सेना, प्रहरी र रेडक्रस :
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र रेडक्रसका टोलीहरू रातदिन उद्धार तथा राहत कार्यमा जुटिरहेका छन्। स्थानीय विद्यालय र सामुदायिक भवनहरूलाई अस्थायी बासस्थानका रूपमा प्रयोग गरिएको छ।
तटबन्ध कटान र करोडौंको क्षति :
गौरीगञ्ज गाउँपालिका–२ मा कनकाई नदीले करिब २०० मिटर तटबन्ध कटान गरेको छ।
यसबाट करिब ११ करोड रुपैयाँ बराबरको क्षति, ५०० हेक्टर धानबाली डुबानमा, र ११४ घरहरू प्रभावित भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।
त्यस्तै, झापा गाउँपालिका–२ को कुवाडी क्षेत्रमा पनि २०० मिटर तटबन्ध कटान हुँदा २५ हेक्टर क्षेत्र नष्ट भएको र ७५ लाख रुपैयाँ क्षति भएको बताइएको छ।
मेची नदीले स्थान–स्थानमा स्पर भत्काउँदा थप ५० लाख रुपैयाँ क्षति भएको छ।
पूर्व–पश्चिम एसियन हाइवे अवरुद्ध :
अविरल वर्षाको कारण भालु खोला र काली खोलामा बनेको डाइभर्सन बगाउँदा निर्माणाधीन एसियन हाइवे अवरुद्ध भएको छ।
शिवसताक्षी नगरपालिका–१० र मेचीनगर–६ क्षेत्रका सडक खण्ड बाढीले बगाउँदा ठूला सवारीसाधन रोकिएका छन्।
भालु खोलामा करिब ३० मिटर र काली खोलामा १५ मिटर सडक वास आउट भएको छ। वैकल्पिक बाटो शिवसताक्षी–९ हुँदै माईधारतर्फ खुलाउने तयारी भइरहेको सडक आयोजनाले जनाएको छ।