दमक । झापाको दमकमा Gen-Z आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय (इप्रका) दमकबाट लुटिएको दुई थान हतियार पाँचथरको दुर्गम ओडारबाट बरामद गरिएको छ। घटनापछि फरार रहेका व्यक्तिहरूको खोजतलासका क्रममा प्रहरीले एक युवकलाई पक्राउ गरी हतियार फेला पारेको हो।
असोज २४ गते इप्रका दमकमा भएको तोडफोड, आगजनी र प्रहरीका हतियार लुटपाट प्रकरणका जिम्मेवारहरूको खोजी भइरहेका बीच, विशेष सूचनाका आधारमा प्रहरीले मङ्सिर २ गते दिउँसो १:३० बजेतिर दमक नगरपालिका–६ बाट सुशिल फियाक (२२) लाई नियन्त्रणमा लियो।

प्रारम्भिक सोधपुछमा सुशिलले लुटिएका हतियार पाँचथरको मिक्लाजुङ–३, आरुबोटे लामागाउँस्थित ओडारमा लुकाइ राखेको स्वीकारेपछि जिल्ला प्रहरी कार्यालय पाँचथरसँग समन्वय गरी प्रहरी निरीक्षक नविन राईको नेतृत्वमा टोली खटियो। टोलीले ओडारबाट लुटिएका हतियारसहित केही गोलीगठ्ठा बरामद गरेको छ।
प्रहरीले बरामद गरेको विवरण:
म्याग्जिन सहितको सिरियल नम्बर 62038 भएको .303 मार्क–3 राइफल – १ थान
म्याग्जिन नभएको, बट र ह्याण्ड ग्रिप जलेको अवस्थामा भेटिएको सिरियल नम्बर 031102739 भएको INSAS – १ थान
INSAS राइफलको १ राउण्ड
SLR का ३ राउण्ड
बरामद हतियार र पक्राउ परेका व्यक्तिको विषयमा जिल्ला प्रहरी कार्यालय झापाले हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।
