झापा, १२ कात्तिक । झापाको दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गएराति भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।
दमकबाट मोरङको टाडी तर्फ जाँदै गरेको बा २ ख १९८३ नम्बरको बस गएराति ११:५५ बजे भित्री सडक खण्डमा अचानक अनियन्त्रित भई सडकको नालीमा पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनाका बेला बसमा करिब ३५ जना सवार थिए।
इलाका प्रहरी कार्यालय दमकका अनुसार, मोरङ मिक्लाजुङ गाउँपालिका–३ का ३९ वर्षीय चालक भक्तबहादुर दर्जीलाई नियन्त्रणमा लिइएको छ। बस भने घटनास्थलमै रहेको र बाटो अवरोध नभएको बताइएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका मोरङ मिक्लाजुङ–३ का ३६ वर्षीय भीमबहादुर मगरको उपचारका क्रममा राति १२:२८ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।
अन्य २१ जना घाइतेमध्ये अधिकांशलाई खरखरेस्थित आम्दा अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ। बिहान ६:३० बजे सम्ममा २० जना घर फर्किएका छन् भने पेटमा चोट लागेकी १७ वर्षीया सपना श्रेष्ठको उपचार जारी छ।
घाइतेमध्ये बालबालिका र महिलाको संख्या उल्लेख्य छ। उनीहरूलाई सामान्य चोटपटक लागेकाले सबैको अवस्था स्थिर रहेको अस्पताल स्रोतले जनाएको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

















