धादिङ, नीलकण्ठ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित एक सांसदले दिएको निर्देशनलाई लिएर धादिङ जिल्लाका १३ वटै स्थानीय तहबीच विवाद चर्किएको छ।
नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाको अध्यक्षतामा बिहीबार बसेको बैठकले संविधान र कानुनविपरीत आउने कुनै पनि निर्देशन अस्वीकार गर्ने निर्णय गरेको छ। साथै प्रशासनमार्फत स्थानीय सरकारमाथि हस्तक्षेप भए कडा प्रतिवाद गर्ने चेतावनी पनि दिइएको छ।
बैठकमा सहभागी जनप्रतिनिधिहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै संघीय संरचनाअनुसार स्थानीय सरकार स्वतन्त्र निकाय भएकाले यसको अधिकार क्षेत्रमा कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारेका छन्।
यो विवाद विशेषगरी धादिङ क्षेत्रबाट निर्वाचित सांसद आशिका तामाङले त्रिशूली नदीमा भइरहेको अवैध बालुवा तथा गिट्टी उत्खनन रोक्न दिएको निर्देशनसँग सम्बन्धित रहेको बताइएको छ। उक्त निर्देशन बेनीघाट रोराङ गाउँपालिका–९ क्षेत्रमा केन्द्रित थियो।
स्थानीय तहका प्रमुखहरूले सांसदको यस्तो निर्देशनले स्थानीय सरकारको संवैधानिक अधिकार कुण्ठित गर्ने प्रयास भएको दाबी गरेका छन्। उनीहरूले प्रशासनमार्फत नियन्त्रण गर्न खोजिए सशक्त प्रतिवाद गर्ने चेतावनी पनि दिएका छन्।
‘संविधानले दिएको अधिकार क्षेत्रमा हस्तक्षेप स्वीकार्य हुँदैन,’ संयुक्त विज्ञप्तिमा उल्लेख छ।
यस घटनाले स्थानीय सरकार र संघीय प्रतिनिधिबीचको सम्बन्धमा तनाव बढ्ने संकेत देखिएको छ।


















