हल्दीबारी (झापा)– झापाको हल्दीबारी गाउँपालिकास्थित गोलधाप र मंगलबारे बजारमा सञ्चालित दुईदिने नापतोल शिविर बुधबार सम्पन्न भएको छ। गुणस्तर तथा नापतोल कार्यालय झापाको आयोजना र हल्दीबारी उद्योग वाणिज्य सङ्घको सहकार्यमा उक्त शिविर सञ्चालन गरिएको हो।
शिविरमा हल्दीबारीसहित छिमेकी पालिका बारादशी र बिर्तामोड नगरपालिकाका गरी कुल ६६ जना व्यवसायीले आफ्ना नापतोल यन्त्रको परीक्षण तथा नवीकरण गराएका छन्। गुणस्तर तथा नापतोल कार्यालय झापाका सहायक निरीक्षक अमित कुमार कर्णको नेतृत्वमा आएको ५ सदस्यीय प्राविधिक टोलीले ढक, तराजु र अन्य नापतोल यन्त्रहरूको सूक्ष्म जाँच गरी प्रमाणीकरण गरेको थियो।
स्वच्छ व्यवसाय र उपभोक्ता हित नापतोल यन्त्रको शुद्धता सुनिश्चित गरी उपभोक्तालाई ठगीबाट बचाउन र व्यवसायीलाई कानुनी दायरामा ल्याउन यो शिविर प्रभावकारी देखिएको उद्योग वाणिज्य सङ्घले जनाएको छ।
शिविरको अनुगमन तथा सहजीकरणमा हल्दीबारी–१ का वडाध्यक्ष एवं गाउँपालिका प्रवक्ता देवीबहादुर थापा, कार्यपालिका सदस्य शान्ता सिवाकोटी, वडा सदस्य प्रकाश कार्की लगायतको उपस्थिति रहेको थियो। यस्तै, उद्योग वाणिज्य सङ्घका महासचिव कृष्णप्रसाद प्रसाईं, सचिव नेत्रविक्रम बिमली तथा सदस्यहरू कुमार कार्की र निराजन दाहालले पनि शिविरको व्यवस्थापनमा सहयोग पुर्याएका थिए।
गाउँपालिका प्रवक्ता थापाले स्थानीयस्तरमै नापतोल यन्त्र प्रमाणीकरण गर्ने सुविधा प्राप्त भएकाले यसको फाइदा लिन सबै व्यवसायीलाई आग्रह गर्नुभयो। उहाँले भन्नुभयो:
”बजारमा नापतोलमा एकरूपता ल्याउन र स्वच्छ व्यवसाय प्रवर्द्धन गर्न यो अभियान चालिएको हो। म्याद सकिएका वा इजाजत नलिएका यन्त्र प्रयोग गर्नु कानुनविपरीत छ।”
अटेर गर्नेलाई ४० हजारसम्म जरिमाना
शिविरका क्रममा उपभोक्ताहरूले स्थानीय पिसानी मिल र केही व्यवसायीले बिना इजाजत नापतोल यन्त्र प्रयोग गरिरहेको तथा भारतीय व्यापारीहरूले भारतीय काँटाबाटै कारोबार गर्ने गरेको गुनासो समेत गरेका थिए।
पटक-पटकको आग्रह र शिविर सञ्चालन गर्दा समेत नवीकरण प्रक्रियामा सहभागी नहुने एक दर्जनभन्दा बढी व्यापारीहरूको विवरण संकलन गरिएको गुणस्तर तथा नापतोल कार्यालयले जनाएको छ। कार्यालयका अनुसार अटेरी गर्ने व्यवसायीहरूको व्यवसाय स्थलमै पुगेर सिल गर्ने र कानुनी कारबाही अघि बढाइने तयारी छ। यस्ता व्यवसायीलाई प्रचलित कानुनबमोजिम ४० हजार रुपैयाँसम्म जरिमाना हुनसक्ने चेतावनी समेत दिइएको छ।

















