समाचार
हल्दिबारी संवाददाता १० महिना अगाडि

नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल सुरु, २३ दिनसम्म उपत्यका उत्सवमय

काठमाडौं — राजधानीमा शुक्रबारदेखि पहिलो पटक ‘नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल–२०२५’ सुरु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल कला परिषद्, बबरमहलमा आयोजित औपचारिक कार्यक्रममार्फत महोत्सवको उद्घाटन गरेका हुन्।

विज्ञापन (Advertisement)Advertisement

राष्ट्रपति पौडेलले उद्घाटन समारोहलाई सम्बोधन गर्दै कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा सरकार र निजी क्षेत्र दुबै अग्रसर हुनुपर्ने बताए। “लोकतन्त्रमा सबै वर्ग र पेशाका मानिसलाई समान अवसर प्राप्त हुन्छ। त्यसैको सदुपयोग गर्दै हाम्रो प्राचीन धरोहर, कला र संस्कृतिको संरक्षण गर्नु हाम्रो साझा दायित्व हो,” उनले भने।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले महोत्सवलाई नेपालको सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए। उनले महोत्सवलाई आगामी वर्षदेखि वार्षिक क्यालेन्डरमा समावेश गर्दै अझ व्यवस्थित रूपमा आयोजना गर्ने योजना रहेको जानकारी दिए।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाल प्रायः हिमाल र साहसिक पर्यटनका लागि चिनिए पनि यो महोत्सवमार्फत नेपाललाई “कला र सांस्कृतिक धरोहरहरूको भण्डार” का रूपमा प्रस्तुत गर्न खोजिएको बताए।

त्यस्तै, नेपाल आर्ट काउन्सिलका अध्यक्ष सागर शमशेर राणाले महोत्सवलाई भविष्यमा ‘वैश्विक सांस्कृतिक पर्व’ का रूपमा विस्तार गर्ने लक्ष्य रहेको बताए।

काठमाडौं, ललितपुर, भक्तपुर र कीर्तिपुरका विभिन्न स्थानमा २३ दिनसम्म चल्ने महोत्सवमा ४० भन्दा बढी कार्यक्रम हुनेछन्। १५४ कलाकारका २७३ कलाकृति प्रदर्शनीमा राखिनेछन् भने संगीत, नृत्य, परम्परागत परिकार र सांस्कृतिक प्रदर्शनीमार्फत जीवित संस्कृतिको अनुभव गर्न सकिनेछ।

नेपाल पर्यटन बोर्ड, नेपाल आर्ट काउन्सिल र होटल व्यवसायी संघको संयोजनमा सुरु गरिएको महोत्सव असोज ११ गतेसम्म चल्नेछ। “नेपालको शाश्वत कला, संस्कृति, खानपान र सम्पदाको उत्सव” भन्ने नारासहित सुरु भएको यो महोत्सवले उपत्यकाका पुराना शहरलाई उत्सवमय बनाउने अपेक्षा गरिएको छ। तस्बिर – प्रदिप राज वन्त

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)