भद्रपुर, झापा । निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहितासम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम चन्द्रगढीस्थित प्रेस क्लब भद्रपुरको सभाहलमा सम्पन्न भएको छ।
कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा नेपाल पत्रकार महासंघ झापाको आयोजना र महासंघ कोशीको सहकार्यमा कार्यक्रम गरिएको हो।

कार्यक्रममा महासंघ झापाका अध्यक्ष एकराज गिरीले निर्वाचनका बेला व्यावसायिक पत्रकारिताको मर्यादा कायम राख्न आचारसंहिताको पालना अनिवार्य हुने बताए। पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता सञ्चारकर्मी मात्र नभई सञ्चारगृहलाई समेत लागू हुने उनले उल्लेख गरे।
अन्तरक्रिया सत्रको सहजीकरण महासंघ झापाका निवर्तमान उपाध्यक्ष केशव भट्टराईले गरेका थिए। उनले विगतका अनुभवहरू स्मरण गर्दै सबै सञ्चारकर्मीले आचारसंहिताको पालना गर्दै स्वतन्त्र र जिम्मेवार पत्रकारिता गर्नुपर्नेमा जोड दिए।
गणेमान मुखियाले जनविश्वास कायम राख्न पत्रकारितामा आचारसंहिताको भूमिका महत्वपूर्ण हुने बताए। निर्वाचनलाई निष्पक्ष र विश्वसनीय बनाउन सञ्चारमाध्यमको भूमिका संवेदनशील रहने भएकाले आचारसंहिता पालनामा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा अग्रज पत्रकार गोविन्दचन्द छेत्री, सञ्चारिका समूह झापाकी अध्यक्ष लीला अनमोल, प्रेस चौतरी झापा अध्यक्ष प्रदीप परियार तथा महासंघ झापाका पूर्व अध्यक्ष चिन्तामणि दाहाललगायतले झापाको पत्रकारितालाई मर्यादित र जिम्मेवार बनाउन सबै पत्रकार सचेत हुनुपर्ने धारणा राखेका थिए।
महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत तथा औचित्यमाथि प्रकाश उपाध्यक्ष सुब्रत न्यौपानेले गरेका थिए भने सञ्चालन सचिव राजु पाठकले गरेका थिए।
