झापा।मोरङको विराटचोकमा आयोजित नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकका क्रममा सशस्त्र प्रहरी बल (एपीएफ) का उपरीक्षक (एसपी) राजेश घिमिरेको निधन भएको छ।
नेपालको सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (बीएसएफ) का अधिकारीहरू सहभागी डीआईजी तहको बैठक चलिरहेका बेला शुक्रबार दिउँसो एसपी घिमिरे अचानक बेहोस भएर ढलेका थिए।
बैठकस्थलमै अचेत भएपछि उनलाई तत्काल मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पताल लगिएको थियो। अस्पताल पुर्याएपछि उपचार प्रयास गरिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
अस्पतालका अनुसार उच्च रक्तचापका कारण उनी बेहोस भएका थिए। अचेत अवस्थामा ढल्दा उनको जिब्रोसमेत काटिएको थियो। स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतासमेत दिइएको थियो।
सशस्त्र प्रहरी बल नम्बर १ बराह वाहिनी पकली, सुनसरीका डीआईजी कुमार न्यौपानेले घटनाको पुष्टि गर्दै भने,
“बैठककै क्रममा उहाँ अचानक ढल्नुभयो। तत्काल अस्पताल लगिए पनि चिकित्सकको प्रयास सफल हुन सकेन।”
हाल उनको शव अस्पतालको आकस्मिक कक्षमा राखिएको छ। परिवार तथा आफन्तलाई जानकारी गराइसकिएको अस्पतालले जनाएको छ।
एसपी घिमिरे नम्बर ३ बाहिनी गढीमाई मुख्यालय, मकवानपुरमा सरुवा भई शनिबार कार्यभार सम्हाल्ने तयारीमा थिए। तर, मोरङबाट बिदा हुनुअघि नै उनको निधन भएको हो।


















