बुटवल, रुपन्देही, २१ फेब्रुअरी । प्रधानमन्त्री सुषिला कार्की ले गण्डकी प्रदेशको भ्रमणपछि लुम्बिनी प्रदेशको पनि दौरा गरी आगामी प्रतिनिधि सभा निर्वाचनका लागि तयारी र समग्र अवस्था बुझ्नुभएको छ।
प्रधानमन्त्री कार्कीले आज बिहान रुपन्देहीको बुटवलमा लुम्बिनी प्रदेश र त्यसअन्तर्गतका विभिन्न जिल्लाका अधिकारीहरूसँग विस्तृत छलफल गर्नुभयो। कार्यक्रममा प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्री, नेपाली सेनाको मध्यपश्चिम पृतनाका पृतनापति हिम्मतबहादुर विष्ट, लुम्बिनी प्रदेश प्रहरी प्रमुख भुपेन्द्र खत्री, रुपन्देही, कपिलवस्तु, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र पाल्पाका प्रमुख जिल्ला अधिकारी तथा अन्य सुरक्षा अधिकारीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा प्रमुख सचिव काप्री र पृतनापति विष्टले प्रदेशभित्र रहेका २६ वटै निर्वाचन क्षेत्रको अवस्था, चुनावको तयारी र सुरक्षाको योजनाका विषयमा प्रस्तुतीकरण दिनुभयो। अन्य सहभागीहरूले पनि आ-आफ्नो क्षेत्रको विवरण प्रस्तुत गर्नुभयो।
प्रधानमन्त्री कार्कीले छोटो अवधिमा निर्वाचनको वातावरण बनाउन गरिएको मिहिनेत र सुरक्षासम्बन्धी योजनामा सन्तोष व्यक्त गर्दै सम्बद्ध अधिकारीहरूलाई धन्यवाद दिनुभयो। उहाँले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित बनाउन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिनुभयो।
उहाँले भने, “निर्वाचनको वातावरण धमिल्याउन खोज्ने तत्वहरूको पहिचान गरी निर्वाचन केन्द्रित सुरक्षा व्यवस्था सुनिश्चित गर्न आवश्यक छ। केही व्यक्ति र समूहले आफ्नो अस्तित्व देखाउन निर्वाचन बहिष्कारको हल्ला फैलाउने प्रवृत्ति देखाएको छ, जसमा कडा निगरानी राख्नुपर्छ।”
प्रधानमन्त्री कार्कीले थप्नुभयो, “बहिष्कार अहिले सजिलो व्यवसाय जस्तो भएको छ। जनतामा जानुपर्दैन, मत माग्नुपर्दैन। यस्तो प्रवृत्ति रोक्नुपर्छ। राजनीति गर्ने हो भने जनतासँग प्रत्यक्ष सम्पर्क गर्नुपर्छ।”
उहाँले देशलाई निकास दिन र निर्वाचन सफल बनाउन सबैलाई संयमित भएर अघि बढ्न निर्देशन दिनुभयो। “यो देश हाम्रो हो, हामीले नै बनाउनु पर्छ। चुनौती आए पनि सामना गरेर अघि बढ्नुपर्छ,” उहाँले भन्नुभयो।
निर्वाचन आफैमा जित-हारको प्रतिस्पर्धा भएकोले सम्भावित झडपप्रति सचेत रहनुपर्ने पनि उहाँले जोड दिनुभयो।
प्रधानमन्त्री कार्की नेतृत्वको टोली आज गौतम बुद्धको जन्मस्थल लुम्बिनीको दर्शन गर्न पुगेको थियो। टोलीमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावल र प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ पनि हुनुहुन्थ्यो।
यसअघि प्रधानमन्त्री कार्कीले शुक्रबार मुस्ताङका हिमाली बस्तीको हवाई निरीक्षण गरी मुख्तिनाथ र जोमसोममा अन्तर्क्रिया गर्नुभएको थियो। त्यहाँबाट पोखरा पुगेर गण्डकी प्रदेशस्तरीय छलफल पनि सम्पन्न भएको थियो।
अघिल्लो भ्रमणमा उहाँले कोसी प्रदेशका सोलुखुम्बु, भोजपुर, ताप्लेजुङ र सुनसरीमा पनि निर्वाचन तयारीको अवलोकन गर्नुभएको थियो।


















