हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता १६ घण्टा अगाडि

प्रधानमन्त्रीको निर्देशन: सातै प्रदेशमा बर्न उपचार केन्द्र विस्तार गरिने, छ प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त

झापा प्रधानमन्त्री बालेन्द्र शाहले देशका सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ (जलन) उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग भएको छलफलका क्रममा उनले प्रमुख सरकारी अस्पतालमा बर्न वार्ड सुदृढीकरणका लागि आवश्यक योजना अघि बढाउन निर्देशन दिएका हुन्।

Advertisement

​प्रधानमन्त्री शाहले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न सङ्घ, प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिए। स्वास्थ्य सेवालाई गुणस्तरीय, प्रभावकारी तथा नागरिकमैत्री बनाउनु सरकारको उच्च प्राथमिकता रहेको उल्लेख गर्दै उनले अस्पतालमा सरसफाइ, सेवा प्रवाहमा सुधार, ‘डिजिटल’ प्रविधिको प्रयोग र सुशासनको कार्यान्वयन गर्न ध्यानाकर्षण गराए।

Advertisement

​यसैबीच विपन्न, असहाय तथा आर्थिक रूपमा कमजोर नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न निजी अस्पतालले बहिरङ्ग (ओपिडी) सेवाको कम्तीमा १० प्रतिशत सेवा सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिएका छन्। एउटा स्वास्थ्य संस्थाले विकास गरेका उत्कृष्ट र असल अभ्यासलाई अन्य संस्थाले पनि साझेदारी र सिकाइका माध्यम बनाउन सुझाव दिँदै उनले प्रतिष्ठानका नाममा रहेको जग्गा अतिक्रमणको विषय कानुनबमोजिम समाधानका लागि पहल गरिने बताए।

​छलफलका क्रममा उपकुलपतिहरूले चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि, स्वास्थ्य सेवा प्रवाहमा सुधार, विशेषज्ञ स्वास्थ्य सेवा विस्तार, दक्ष स्वास्थ्य जनशक्ति व्यवस्थापन र पूर्वाधार विकाससम्बन्धी सुझाव प्रस्तुत गरेका थिए। उनीहरूले स्वास्थ्य सेवामा ‘डिजिटल’ रूपान्तरण, अस्पताल सूचना व्यवस्थापन प्रणालीको प्रभावकारी कार्यान्वयन तथा केही प्रतिष्ठानका नाममा रहेको जग्गा अतिक्रमणका कारण संस्थागत विकासमा परेको प्रभावबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

​उक्त अवसरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा नवीसमान सिंह प्रधान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा अजयकुमार मिश्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा नारायणसिंह गुरुङ, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति डा स्मृति काफ्ले तथा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति विवेक आचार्य सहभागी थिए।

​यसै सिलसिलामा सरकारले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत सञ्चालित छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति समेत नियुक्त गरेको छ। प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति बालेन्द्र शाहले उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा ती नियुक्तिहरू गरेका हुन्।

​नयाँ नियुक्तिअनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नविसमान सिंह प्रधान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. स्मृति कार्की उपकुलपति बनेका छन्। त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नारायणसिंह गुरुङ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. सूर्यमान म्याहाङम्बो तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. अजयकुमार मिश्रलाई उपकुलपतिको जिम्मेवारी दिइएको छ।

​सरकारले यसपटक उपकुलपति नियुक्तिका लागि ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३’ लागू गर्दै खुला, प्रतिस्पर्धात्मक र पारदर्शी प्रक्रिया अवलम्बन गरेको जनाएको छ। गत जेठ ४ गते आह्वान गरिएको आवेदनमा देशभरबाट ११३ जनाको आवेदन परेको थियो।

​आवेदन दिएका उम्मेदवारहरूको शैक्षिक योग्यता, अनुभव, कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका आधारमा छनोट समितिले प्रत्येक प्रतिष्ठानका लागि सात जनाका दरले ४२ जनाको प्रारम्भिक सूची तयार पारेको थियो। उक्त सूचीबाट उत्कृष्ट ठहरिएका उम्मेदवारलाई सम्बन्धित प्रतिष्ठानको नेतृत्वको जिम्मेवारी दिइएको हो। नयाँ उपकुलपतिहरूको नेतृत्वमा स्वास्थ्य शिक्षा, अनुसन्धान तथा विशेषज्ञ स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि हुने अपेक्षा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले राखेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)