खलंगा, जाजरकोट । नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले जाजरकोट जिल्ला अस्पतालमा १८५औँ पटक रक्तदान गरेका छन्। २४ गते आयोजित कार्यक्रममा उनले रगत दानमै प्राप्त हुने भए पनि सरकारले अझै बिरामीलाई निःशुल्क उपलब्ध गराउने व्यवस्था गर्न नसकेको भन्दै निःशुल्क रगत उपलब्ध गराउन सरकारसँग आग्रह गरे।
रक्तदानपछि कर्माचार्यले भने, “दानमा प्राप्त रगतका लागि पनि बिरामीले शुल्क तिर्नुपर्ने अवस्था दुःखद छ। रगत जीवनसँग जोडिएको विषय भएकाले यसलाई पूर्ण रूपमा निःशुल्क गरिनुपर्छ।” उनले रक्तदानलाई सामाजिक उत्तरदायित्वका रूपमा बुझ्न सबैलाई आग्रह गरे।
कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख कालीबहादुर खत्रीले दान धेरै प्रकारका हुने भए पनि सबैभन्दा महत्वपूर्ण दान रक्तदान भएको बताए। पछिल्लो समय जनचेतनाको कमीका कारण स्वयंसेवी रक्तदाता जुटाउन कठिन हुँदै गएको उनले उल्लेख गरे। “नियमित रक्तदानको संस्कार विकास गर्न स्थानीय तहदेखि नै पहल आवश्यक छ,” उनले भने।
यस्तै, भेरी नगरपालिका–३ का वडाध्यक्ष लिलाबहादुर शाहले जाजरकोट जिल्लामा रक्तसञ्चार केन्द्र स्थापना गर्न तत्काल १ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले आगामी आर्थिक वर्षमा समेत रक्तसञ्चार केन्द्रका लागि थप १ लाख रुपैयाँ विनियोजन गर्ने घोषणा गरे।
नेपाल स्वयंसेवी रक्तदाता समाज जाजरकोट जिल्ला शाखाका अध्यक्ष प्रेमबहादुर ओलीले जिल्लामा स्थायी रक्तसञ्चार केन्द्र स्थापना गर्न विभिन्न अभियान सञ्चालन भइरहेको जानकारी दिए। उनका अनुसार केन्द्र स्थापना भएमा आकस्मिक उपचार, सुत्केरी सेवा र जटिल रोगका बिरामीलाई ठूलो राहत पुग्नेछ।
दुर्गम जिल्ला जाजरकोटमा नियमित रक्त उपलब्धताको समस्या दीर्घकालदेखि रहँदै आएको छ। स्थानीय स्तरमै रक्तसञ्चार केन्द्र स्थापना र स्वयंसेवी रक्तदान प्रवर्द्धन गर्न सरोकारवालाको साझा पहल आवश्यक देखिएको छ।
प्रेमसागर कर्माचार्यद्वारा १८५औँ पटक रक्तदान
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1

















