झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित आनन्दगञ्जमा आज बिहान भीषण आगलागी भएको छ। मिति २०८३ साल वैशाख १ गते बिहान करिब ४:१५ बजेको समयमा स्थानीय भक्तिप्रसाद उप्रेतीले सञ्चालन गरेको काठ र टिनको छानो भएको एक तले झापाली चिप्स फ्याट्रीबाट सुरु भएको आगोले नजिकै रहेको चन्द्रप्रसाद खरेलको सौगात काष्ठ फर्निचर उद्योगमा समेत क्षति पुर्याएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली तत्काल कार्यस्थलमा खटिएको थियो। आगोलाई थप फैलिन नदिन बिर्तामोड नगरपालिका, भद्रपुर नगरपालिका र मेचीनगर नगरपालिकाका दमकलहरू परिचालन गरिएको छ। साथै सशस्त्र प्रहरी बल सुरक्षा बेस शनिश्चरेबाट खटिएको टोली र स्थानीय बासिन्दाहरूको अथक प्रयासमा आगो निभाउने कार्य भइरहेको छ।
प्रहरीका अनुसार समयमै सुरक्षाकर्मी र दमकल पुगेका कारण आगोले अन्य घरहरू भेट्ने सम्भावना टरेको छ। आगलागीको वास्तविक कारण भने अहिलेसम्म खुल्न सकेको छैन। आगलागीबाट भएको क्षतिको पूर्ण विवरण संकलन गर्ने काम भइरहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















