भद्रपुर, माघ १३ । भद्रपुरमा आयोजना हुने कोशी पाथीभरा इन्डो–नेपाल टी–२० क्रिकेट च्याम्पियनसिपको मिति नजिकिँदै जाँदा तयारी तीव्र बनाइएको छ। कोशी पर्यटन वर्षको अवसरमा प्रदेश सरकारको आर्थिक सहयोगमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको हो।
भद्रपुर क्रिकेट क्लबको आयोजनामा मेची क्याम्पसस्थित क्रिकेट मैदानमा हुने प्रतियोगिता माघ २१ देखि २९ गतेसम्म सञ्चालन हुनेछ। लिग ढाँचामा हुने प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोली सहभागी हुने आयोजकले जनाएको छ।
आयोजक समितिका संयोजक तथा भद्रपुर–८ का वडाध्यक्ष गौरव सुब्बा मनोजका अनुसार नेपालतर्फ आयोजक भद्रपुर क्रिकेट क्लब, गण्डकी हिरोज पोखरा, ग्रेट हिमालयन क्रिकेट एकेडेमी काठमाडौं र फ्रेन्ड्स युथ क्लब डडेलधुरा सहभागी हुनेछन्। भारततर्फ राइनोल्यान्ड क्रिकेट एकेडेमी (आसाम, गुवाहाटी), ग्लोबल स्टार क्रिकेट क्लब (लखनऊ), क्रिकेट कोचिङ उपाध्याय एकेडेमी (न्यु दिल्ली) र स्नो लायन टिम अफ सिक्किम सहभागी छन्।
प्रतियोगितामा नेपालका तर्फबाट एनपीएल खेलिसकेका तथा भारतका तर्फबाट रणजी ट्रफी खेलेका खेलाडीको सहभागिता रहने संयोजक सुब्बाले जानकारी दिए।
एक करोड २२ लाख रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ नगदसहित ट्रफी र मेडल पाउनेछ भने उपविजेताले ३ लाख रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछ। प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’लाई ११ हजार रुपैयाँ प्रदान गरिनेछ।
त्यस्तै उत्कृष्ट ब्याटर र बलरलाई २५–२५ हजार रुपैयाँ, उदीयमान खेलाडीलाई ११ हजार रुपैयाँ र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिने भद्रपुर क्रिकेट क्लबका महासचिव वसन्त पोखरेलले बताए।
आठ टोलीलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइनेछ। कोशी प्रदेश सरकार, भद्रपुर नगरपालिका र स्थानीय समाजसेवीको सहयोगमा करिब ६० लाख रुपैयाँ खर्चेर क्रिकेट पिच निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।


















