विश्व वातावरण दिवस अर्थात् जुन ५ को अवसर पारेर भद्रपुर जेसीजले भद्रपुर नगरपालिका वडा नम्बर ६ स्थित गुरुकुल वेद आश्रममा विभिन्न प्रजातिका १०० वटा बिरुवा रोपेर दिवस मनाएको छ। जुनियर जेसीजको सह-आयोजनामा सम्पन्न भएको उक्त विशेष वृक्षारोपण कार्यक्रम भद्रपुर जेसीजका अध्यक्ष जेसी सुरेन्द्र कुमार खड्काको अध्यक्षता तथा भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा गुरुकुल वेद आश्रमका प्राचार्य जीवन भट्टराईको विशेष आतिथ्यता रहेको थियो भने नगरका विभिन्न सामाजिक व्यक्तित्वहरूको समेत गरिमामय उपस्थिति रहेको थियो। आश्रम परिसरलाई वातावरणमैत्री र हरियाली बनाउने उद्देश्यले आयोजित यस कार्यक्रममा भद्रपुर जेसीज बोर्डका पदाधिकारी तथा सदस्यहरू, जुनियर जेसीजका पदाधिकारी तथा सदस्यहरूको व्यापक सहभागिता रहेको थियो।
भद्रपुर जेसीजका उपाध्यक्ष जेसी सनम शासंखरले संयोजन गर्नुभएको यस कार्यक्रमको सञ्चालन संस्थाका महासचिव जेसी सुरज श्रेष्ठले गर्नुभएको थियो। सहभागीहरूले प्रकृतिको संरक्षण र वातावरण सन्तुलनका लागि वृक्षारोपण अपरिहार्य रहेको भन्दै रोपिएका बिरुवाहरूको उचित संरक्षण गरिने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
















