भद्रपुर । भद्रपुर झापा गोल्डकपको दोस्रो साधारणसभा बिहीबार सम्पन्न भएको छ। भद्रपुर–८ स्थित मेची रंगशालाको कभर्डहलमा आयोजित सभाको अध्यक्षता गोल्डकपका अध्यक्ष दिपेश ढकालले गरेका थिए भने उद्घाटन भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले गरेका थिए। कार्यक्रम महासचिव जीवनकुमार श्रेष्ठले सञ्चालन गरेका थिए।
साधारणसभामा अध्यक्ष ढकालले स्वागत मन्तव्यसहित अध्यक्षीय धारणा राखेका थिए। सचिव तीर्थराज ढकालले संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए भने सह–कोषाध्यक्ष अजय साहेवालाले आर्थिक प्रतिवेदन पेस गरेका थिए।
अध्यक्ष ढकालले हालसम्म गोल्डकपका दुई संस्करण सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै झापामा पहिलो पटक अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिता आयोजना गर्न सफल भएको बताए। उनले आगामी फागुनको पहिलो सातादेखि तेस्रो संस्करण सञ्चालन गर्ने तयारी सुरु भइसकेको जानकारी दिए।
उनका अनुसार गोल्डकपको पहलमा मेची रंगशालामा विभिन्न भौतिक संरचना थपिनुका साथै मैदानको स्तरोन्नति गरिएको छ। ग्रासरुट तथा महिला फुटबल प्रशिक्षण कार्यक्रमलाई पनि निरन्तरता दिइएको उनले बताए।
कार्यक्रममा बोल्दै नगरप्रमुख पोखरेलले नगरपालिकाले गोल्डकपको संरक्षकत्व गरिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ले मेची रंगशालाको स्तरोन्नतिमा गोल्डकपको योगदान उल्लेखनीय रहेको बताए। उनले आगामी कार्यक्रमहरूमा पनि सहकार्य रहने बताए।
साधारणसभाले अध्यक्ष, सचिव र कोषाध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित गरेको महासचिव श्रेष्ठले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार