हेमन्त मैनाली, झापा । भद्रपुर साइकल सोसाइटी, झापाले आयोजना गरेको दीर्घ दूरीको साइक्लिङ अभियान “टुर दि मेची–महाकाली” आज नौ दिनको यात्रापछि सफलतापूर्वक सम्पन्न भएको छ।

साइकल चालकहरूको समूहले आफ्नो अन्तिम गन्तव्य पश्चिम सिमाक्षेत्र गड्डाचौकीको पिलर नं. ८०५/१–७ पुगेर यात्रा समापन गरेको घोषणा गरेको छ।

अभियानमा सहभागी राइडरहरूमा अध्यक्ष तथा अभियान संयोजक जीवनकुमार श्रेष्ठ, कोषाध्यक्ष देबीबहादुर श्रेष्ठ, सल्लाहकार मनोज सिंह, सदस्य समीर पोखरेल र विश्वचन्द्र महतो रहेका थिए। उनीहरूले कठिन र लामो दूरी पार गर्दै अभियान सफलतापूर्वक पूरा गरेका छन्। सोसाइटीले सबै राइडरलाई सुरक्षित यात्रा सम्पन्न गरेकोमा हार्दिक बधाई दिएको छ।

यात्राको सुरुआत भद्रपुरस्थित मेची पुलबाट २०८२-७-२३ गते भएको थियो। अभियानका क्रममा संघ–संस्था, पदाधिकारी र व्यक्तित्वहरूले निरन्तर सहयोग र शुभकामना प्रदान गरेका थिए। सोसाइटीका अध्यक्ष जीवनकुमार श्रेष्ठले त्यसप्रति आभार व्यक्त गरेका छन्।

साइकलिङ अभियानका क्रममा विभिन्न क्लबहरूले पनि निरन्तर सहयोग प्रदान गरेका थिए। विशेष धन्यवाद व्यक्त गरिएको क्लबहरूमा उदयपुर साइक्लिङ संघ, हिमालयन राइडर्स सोसाइटी, हेटौंडा, कावासोति राइडर्स क्लब, नवलपरासी राइडर्स क्लब, साइकल सिटी भैरहवा, तिलत्तोमा राइडर्स क्लब, साइकल साथी सैनामैना, बाणगंगा राइडर्स क्लब, साइकल सिटी हेटौंडा, कञ्चनपुरका साइक्लिस्टहरू रहेका छन्।

भद्रपुर साइकल सोसाइटीले आगामी दिनमा पनि स्वस्थ जीवनशैली, वातावरण संरक्षण र साइक्लिङ संस्कृतिको प्रचार–प्रसार गर्ने अभियान निरन्तर चलाउने प्रतिबद्धता व्यक्त गरेको छ। अभियान समाप्ति पश्चात् अबको यात्रा व्यक्तिगत हुने र तीन सदस्य टोली साइकलमार्फत भद्रपुर फर्कने जानकारी दिइएको छ।

साइकलमा फर्किने राइडरहरू हुन् – जीवन श्रेष्ठ, समीर पोखरेल र देवीबहादुर श्रेष्ठ, जसले हुलाकी राजमार्ग हुँदै भद्रपुर फर्कने योजना बनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार