झापा, १३ चैत । झापाको भद्रपुर नगरपालिका वडा नम्बर ६ स्थित गिरीचोकबाट प्रहरीले ठुलो परिमाणको अवैध लागुऔषध ब्राउन सुगरसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। स्थानीय शोभित यादवको घरमा भाडामा बस्दै आएका भारतको ठाकुरगंज निवासी ३७ वर्षीय बेचन यादवलाई विशेष सूचनाका आधारमा खटिएको वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले पक्राउ गरेको हो।
शुक्रबार दिउँसो करिब ३ बजेको समयमा यादवको डेरामा पुगेको प्रहरी टोलीले खानतलासी गर्ने क्रममा घरको कम्पाउण्डमा रहेको ईटाको चाङभित्र लुकाइएको अवस्थामा लागुऔषध बरामद गरेको थियो। प्रहरीका अनुसार प्लाष्टिकसहित जम्मा २१ ग्राम ८९० मिलिग्राम र प्लाष्टिक बाहेक तौल गर्दा २० ग्राम ६९० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ फेला परेको छ।
अवैध लागुऔषधसहित पक्राउ परेका यादवलाई आवश्यक कानुनी प्रक्रिया र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ। सीमावर्ती क्षेत्रमा लागुऔषधको ओसारपसार नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएसँगै यादव पक्राउ परेका हुन्।

















