भद्रपुर, झापाको भद्रपुरमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा श्रीमान्, श्रीमती र नौ महिनाका शिशुसहित ४ जना घाइते भएका छन्।
शुक्रबार साँझ करिब ६ बजे भद्रपुर नगरपालिका–७, सयपत्री तेलीभिट्टास्थित भित्री सडक खण्डमा मन्त्री चौकबाट चन्द्रगढीतर्फ आउँदै गरेको मे ६प ४५७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको प्र १–०१–०१३प ८१७ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा मे ६प ४५७ नम्बरको मोटरसाइकल चालक, बिर्तामोड–५ का ३० वर्षीय वीरबहादुर राजवंशी गम्भीर घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ। सोही मोटरसाइकलमा सवार उनकी श्रीमती २९ वर्षीया दिविका राजवंशी र नौ महिनाका छोरा सार्थक राजवंशी पनि घाइते भएका छन्। तीनै जनाको उपचार बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा भइरहेको छ।
त्यस्तै, प्र १–०१–०१३प ८१७ नम्बरको मोटरसाइकल चालक, भद्रपुर–६ का २३ वर्षीय उदयराज कार्की पनि गम्भीर घाइते भएका छन्। उनको टाउकोमा चोट लागेकाले अहिले प्रादेशिक अस्पताल भद्रपुरमा प्रहरीको निगरानीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।