धरान, भदौ २७ । भाटभटेनी सुपरमार्केटको धरान शाखामा चार जनाको जलेको शव फेला परेको छ। जेनजेड आन्दोलनका क्रममा मंगलबार अराजक समूहले गरेको आगजनीका कारण उनीहरूको मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ।
शुक्रबार दिउँसो प्रहरीले सुपरमार्केटको दोस्रो तलामा एक जनाको र तेस्रो तलामा तीन जनाको शव फेला पारेको हो। इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुका अनुसार शव अत्यधिक जलेको अवस्थामा भेटिएका कारण पहिचान खुल्न सकेको छैन।
विज्ञापन (Advertisement)

“प्रारम्भिक अनुसन्धानअनुसार भेटिएका शव आगलागी भएको समयमा लुटपाट गर्न गएकाहरूको हुन सक्ने आशंका छ,” डिएसपी जवेगुले बताए। उनका अनुसार शव पूर्णरूपमा जलेका कारण लिङ्ग छुट्याउन पनि नसकिएको छ।
यसअघि मंगलबार भएको आगजनीमा धरानस्थित भाटभटेनी सुपरमार्केट पूर्णरूपमा क्षतिग्रस्त भएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।