समाचार
हल्दिबारी संवाददाता ६ महिना अगाडि

भेलागुढी सिमसार छिर्ने बाटोमै बाधा, हर्चना खोलामा पक्की पुल खोज्दै स्थानीय

झापाको हल्दिबारी गाउँपालिका–२ स्थित भेलागुढी सिमसार तथा सहिद स्मारक पार्कको मुख्य प्रवेशद्वारमा पर्ने हर्चना खोलामा पक्की पुल निर्माणको माग तीव्र बन्दै गएको छ। पर्यटकीय आवागमन बढेसँगै पुल अभावले समस्या सिर्जना गरेपछि स्थानीय बासिन्दा एकजुट भएर पहलमा जुटेका हुन्।

हल्दिबारी, भद्रपुर र बिर्तामोड—तीन पालिकाको संगमस्थलमा रहेको भेलागुढी सिमसार क्षेत्र पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ। तर सिमसार छिर्ने मुख्य बाटोमै रहेको हर्चना खोलामा पुल नहुँदा वर्षायाममा आवागमन पूर्ण रूपमा अवरुद्ध हुने गरेको छ। हिउँदमा भने ह्युमपाइप राखेर अस्थायी रूपमा बाटो बनाउँदै आउजाउ गर्नुपर्ने बाध्यता रहेको भेलागुढी सामुदायिक वन उपभोक्ता समूहले जनाएको छ।

विज्ञापन (Advertisement)Advertisement

समूहका अध्यक्ष पुण्यप्रसाद लम्सालका अनुसार राज्यको करोडौं लगानीमा सिमसार क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिए पनि प्रवेशद्वारमै पुल नहुनु ठूलो विडम्बना हो। उनका अनुसार बर्खायाममा तीन महिनासम्म खोलामा पानीको सतह बढ्दा सिमसार क्षेत्र प्रायः बन्दजस्तै हुने गरेको छ।

हर्चना खोलामा पक्की पुल निर्माणलाई आवश्यक ठान्दै सरोकारवाला पक्षहरू मिलेर पुल निर्माण उपभोक्ता समिति गठन गरिसकेका छन्। भेलागुढी सामुदायिक वन उपभोक्ता समूहका पूर्वअध्यक्ष नारायणप्रसाद लुइँटेलको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको हो। समितिको उपाध्यक्षमा तुलसी पोखरेल, सचिवमा नरेन्द्रकुमार फागो र कोषाध्यक्षमा दीपा ढुंगेल रहेका छन्।

समितिले पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न हल्दिबारी, भद्रपुर र बिर्तामोड तीनवटै पालिकासँग समन्वय गर्ने निर्णय गरेको छ। समितिका सदस्य कुमार कार्कीले पालिकाहरूले चासो नदेखाए स्थानीयले आफैं सहयोग जुटाएर भए पनि पुल निर्माण गरेरै छाड्ने बताए।

पुल नहुँदा हरेक वर्ष ह्युमपाइप राखेर बाटो बनाउँदा वन समूहले ठूलो खर्च व्यहोर्नुपरेको समूहका सचिव खगेन राजवंशीले बताए। उनका अनुसार ह्युमपाइप वर्षमा दुई–तीन पटकसम्म मर्मत गर्नुपर्ने अवस्था छ।

९६ हेक्टर क्षेत्रफलमा फैलिएको भेलागुढी सिमसारलाई हल्दिबारी गाउँपालिकाले गौरवको आयोजना घोषणा गरी विकास गर्दै आएको छ। अध्यक्ष नारायणप्रसाद लुइँटेलका अनुसार २०६४ सालदेखि सुरु भएको प्रयास संघीय संरचनापछि २०७६ सालदेखि गुरुयोजनासहित अघि बढाइएको हो। संघीय सरकार, प्रदेश सरकार र पालिकाको साझेदारीमा करोडौं रुपैयाँ खर्च भइसके पनि प्रवेशद्वारमै पुल नहुँदा सिमसारको पूर्ण उपयोग हुन सकेको छैन।

यसैबीच हल्दिबारी गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देन, बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईं र भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलले हर्चना खोलामा पुल निर्माणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको समितिले जनाएको छ।

स्थानीयका अनुसार पक्की पुल निर्माण भएमा भेलागुढी सिमसार क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्नेछ भने वर्षौंदेखि दोहोरिँदै आएको अस्थायी संरचनाको समस्या पनि स्थायी रूपमा समाधान हुनेछ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)