समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

मङ्सिर ७ बाट देशव्यापी आन्दोलन! दुर्गा प्रसाईंले व्यवस्थाप्रति कडा चेतावनी दिए

काठमाडौँ, १२ कात्तिक। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलन सञ्चालन गर्ने घोषणा गरेका छन्।

उनका अनुसार, यो आन्दोलन हिंसात्मक हुने छैन र पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, १४ अञ्चल, ७७ जिल्ला तथा १६५ निर्वाचन क्षेत्रमा सञ्चालन हुनेछ।

विज्ञापन (Advertisement)Advertisement

प्रसाईंले नागरिकलाई दैनिक उपभोग्य वस्तुहरू जम्मा गर्न र निजामती कर्मचारी तथा प्रहरीलाई बिदामा बस्न अनुरोध गरेका छन्। उनले स्पष्ट पारे कि आन्दोलनमा बन्दुक, बारुद, आगजनी वा घर तोडफोड हुने छैन।

मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसँगको छलफलपछि प्रसाईंले सञ्चारकर्मीसँग भने, “मङ्सिर ७ गतेको महत्त्व दिल्लीमा भएको १२ बुँदे सम्झौतासँग सम्बन्धित छ। त्यसपछि देशमा राजसंस्था हटेको र वर्तमान व्यवस्थाप्रतिको परिवर्तन आवश्यक छ।”

उनले अभियानको उद्देश्य पशुपति र माता दुर्गाको सुरक्षा गर्नु र विदेशमा रहेका नेपाली नागरिकलाई घर फर्काउने रहेको बताए। साथै, आन्दोलनको क्रममा हुने कुनै पनि तोडफोड वा उल्लङ्घनका घटनामा महाअभियान जिम्मेवार नहुने पनि उनले स्पष्ट पारे।

दुर्गा प्रसाईंले सम्पूर्ण मानवअधिकारवादी, पत्रकार र देश–विदेशमा रहेका नागरिकलाई आन्दोलनमा साथ दिन आह्वान गरेका छन्। उनले पत्रकार सम्मेलनमार्फत आगामी तयारी सार्वजनिक गर्ने योजना पनि बताएका छन्।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)