काठमाडौँ । मनास्लु वर्ल्ड कलेजको मुख्य प्रायोजन तथा एभरेष्ट इभेन्ट्सको आयोजनामा “मिस्टर एण्ड मिस एसईई सुपर मोडल २०२६ (भोल्युम ५)” को भव्य फाइनल प्रतियोगिता सम्पन्न भएको छ । भ्यालेन्टिनो इन्टरनेशनल कलेज अफ फेसनद्वारा संचालित यस प्रतिष्ठित सौन्दर्य प्रतियोगितामा देशभरिका प्रतिस्पर्धीहरूलाई पछि पार्दै सौरभ सिटौला र आर्याना सिंहले यस वर्षको मुख्य उपाधि चुम्न सफल भएका छन् ।

​यस वर्षको विजेता बनेसँगै सौरभ सिटौलाले प्रतियोगितामा एउटा दुर्लभ र ऐतिहासिक पारिवारिक कीर्तिमान समेत थपेका छन् । यसअघि सम्पन्न यसै प्रतियोगिताको तेस्रो संस्करण (सीजन ३) को विजेता सौरभकै दाजु गौरव सिटौला बनेका थिए । एउटै परिवारका दुई सहोदर दाजुभाइले फरक-फरक संस्करणमा यस प्रतिष्ठित राष्ट्रिय प्रतियोगिताको मुख्य उपाधि जितेर सिटौला परिवारले ग्ल्यामर क्षेत्रमा एउटा उदाहरणीय र रोचक इतिहास रचेको छ । तेस्रो सस्करणका मुख्य उपाधि विजेता गौरव यसअघि चर्चित डान्सर नोरा फतेही सँग काठमाडौँमा आयोजित एक राष्ट्रिय स्तरको नृत्य प्रतियोगितामा जोडी बनेर स्टेज सेयर गरेपछि निकै चर्चामा आएका थिए । सो प्रतियोगितामा उनको उत्कृष्ट नृत्य र प्रस्तुतिको सर्वत्र प्रशंसा भएसँगै उनी सामाजिक सञ्जाल र कला क्षेत्रमा सबैभन्दा बढी खोजी गरिएका (मस्ट वान्टेड) उदयमान प्रतिभाका रूपमा स्थापित भइसकेका छन् ।

​यसैगरी प्रतियोगितामा प्रिन्स चौधरी र आकृति राईले फेस अफ एसईई सुपर मोडल २०२६ को उपाधि जितेका छन् । मुख्य प्रतिष्पर्धा तर्फ जोयल महर्जन र युइशा बस्नेत फस्ट रनर अप, सावोलिन श्रेष्ठ र कृतिष्मा लामा सेकेन्ड रनर अप, आरव श्रेष्ठ र सुम्निमा बजगाई थर्ड रनर अप तथा अन्सान अधिकारी र युनिशा शाक्य फोर्थ रनर अप घोषित भएका छन् । प्रतियोगितामा विधागत तर्फ विवेक भुसाल र जेलिशा श्रेष्ठले ब्राण्ड एम्बेसडरको उपाधि हात पारेका छन् भने साइस रौनियार र जेत्सुन डोल्मा मोक्तान आयोजकको छनोटमा पर्न सफल भए । त्यस्तै, सदीक्षा तामाङले ब्युटी विथ ब्रेन, सुशान्त तामाङ र हिमानी लामाइछानेले भ्यालेन्टिनो ब्रान्ड एम्बेसडर, साधवी प्रसाईंले पब्लिक च्वाइस अवार्ड तथा आयुश्री कार्कीले भ्युज च्वाइस अवार्ड जितेका छन् । यसै विधामा अविनाश तामाङ भ्युज च्वाइस रनर अप र अरिका थापा तथा प्रिन्स पाण्डे सर्वाधिक लोकप्रिय रनर अप बनेका छन् ।

​मुख्य विजेता बनेका सौरभ र आर्यानाले कुल दुई लाख रुपैयाँ नगद पुरस्कार र आकर्षक स्मार्ट फोन प्राप्त गरेका छन् । उनीहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत पाउनेछन् । विजेता दुवैका लागि एभरेस्ट फिल्म एकेडेमीमा जनही एक लाख रुपैयाँ बराबरको छात्रवृत्ति, आशिका एकेडेमीद्वारा व्यावसायिक मेकअप कोर्स, नेपाल एयरहोस्टेस एकेडेमीमा छात्रवृत्ति, C.G.G स्पोर्ट्स हबबाट बक्सिङ र मुए थाई फिटनेस प्याकेज प्राप्त भएको छ । यस प्रतियोगिताको ठूलो विशेषता के रहेको छ भने मुख्य विजेताहरू मात्र नभई यसमा सहभागी भएका प्रत्येक प्रतिस्पर्धीले विभिन्न २० वटा कलेजहरूमा प्लस टु अन्तर्गत विज्ञान, व्यवस्थापन, मानविकी वा ए-लेभल अध्ययनका लागि छात्रवृत्ति प्राप्त गर्नेछन् । विजेताहरूलाई फ्रुट जेम्स र OOPS NEPAL का तर्फबाट आकर्षक उपहार ह्याम्परहरू प्रदान गरिएको छ भने आगामी दिनमा विज्ञापन, म्यागजिन, पत्रपत्रिका, म्युजिक भिडियो तथा सर्ट फिल्म उत्पादन शुटहरूमा फिचर हुने अवसर समेत सुरक्षित गरिएको छ ।

​एभरेष्ट इभेन्ट्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत कृष्ण श्रेष्ठ (रो बेन) को नेतृत्वमा सम्पन्न यस कार्यक्रमको कोरियोग्राफी सुगंधा अधिकारी र अर्शु महर्जनले गरेका थिए । चर्चित होस्ट रोजिन शाक्यले संचालन गरेको यस समारोहका सुन्दर दृश्यहरू फोटोग्राफर अनिश श्रेष्ठ र अकेन्द्र चलाउनेले कैद गरेका थिए । कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न आशिका एकेडेमीले मेकअप, फ्रुट जेम्सले रिफ्रेसमेन्ट र द फ्लावर प्याचले गिफ्ट पार्टनरका रूपमा सहकार्य गरेका थिए । एसईई परीक्षा दिएर बसेका किशोर-किशोरीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार