प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विश्वासको मत लिनुअघि नै राजीनामा दिएर तुरुन्तै पुनःनियुक्ति लिने तयारी गरेका छन्। पूर्व निर्णयाअनुसार आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको विशेष अधिवेशनमा विश्वासको मत लिनुपर्ने कार्यक्रम रहे पनि आफूलाई बहुमत प्राप्त नहुने निश्चित देखेपछि प्रधानमन्त्री ओलीले बरु त्यसअघि नै पदबाट राजीनामा दिएर संसदको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पुनः प्रधानमन्त्री नियुक्त हुने तयारी गरेका हुन्।
प्रधानमन्त्री ओलीनिकट एक उच्च नेताका अनुसार सम्भवतः ओलीले आज ११र१२ बजेतिर प्रधानमन्त्री पदबाट राजीनामा दिनेछन् र साँझसम्म पुनः प्रधानमन्त्री नियुक्त भएर राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनेछन्।

विश्वासको मत नपाउने र सरकार अल्पमतमा पर्ने स्पष्ट भएपछि प्रधानमन्त्री ओलीले सहज बाटो रोज्ने योजना बनाएको ती नेताले बताए। ‘पार्टीभित्रको किचलो र संसदमा बुहमत जुटाउन नसक्दा विश्वासको मत नपाउने स्पष्ट नै भयो,’ ती नेताले भने, ‘तसर्थ संसदमा अल्पमतमा परेपछि फेरि ठूलो दलको हैसियतले प्रधानमन्त्री नियुक्त हुनुभन्दा पहिले नै राजीनामा दिएर नियुक्त हुँदा सहज हुन्छ भन्ने निष्कर्षमा यस्तो योजना बनेको हो।’
ती नेताका अनुसार प्रधानमन्त्री ओलीले आज ११र१२ बजेसम्म शीतल निवास गएर राष्ट्रपति भण्डारीसमक्ष राजीनामा बुझाउने छन्। र, राष्ट्रपतिले तत्कालै संसदको सबैभन्दा ठूलो दल एमालेको संसदीय दलको नेताको हैसियतमा ओलीलाई पुनः प्रधानमन्त्री नियुक्त गर्ने तय भएको छ।
ओलीले माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिनु तथा विपक्षीले आफूविरुद्ध अविश्वास प्रस्ताव पेस गर्नुअघि नै विश्वासको मत लिने निर्णय गरेका थिए। त्यसैका लागि आज दिउँसो १ बजे प्रतिनिधि सभाको विशेष अधिवेशन बस्दै छ। तर नेपाली कांग्रेस, मोओवादी केन्द्र र जनता समाजवादी पार्टीले विश्वासको मत नदिने जानकारी ओलीलाई दिइसकेका छन् भने एमालेकै माधव नेपाल पक्षका करिब २६ सांसदले समेत ओलीलाई साथ नदिने बरु सांसद पदबाटै राजीनामा दिने तयारी गरेका छन्।
















