हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

वीपीले देख्नुभएको जनचाहना अनुरुपको संविधानको सपना पूरा हुने क्रममा छ : सिटौला

भद्रपुर, २४ भदौ । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले विश्वेश्वरप्रसाद कोइराला (वीपी)ले २००७ सालमा देख्नुभएको जनचाहना अनुरुपको संविधानको सपना पूरा हुने क्रममा रहेको बताउनुभएको छ ।

Advertisement

Advertisement

 

कांग्रेस झापा क्षेत्र नं. ३ क्षेत्रीय समितिले आज १११ औं वीपी जयन्तीको अवसरमा आयोजना गरेको क्षेत्रीय भेला तथा सम्मान कार्यक्रममा मन्तव्य राख्नुहुँदै नेता सिटौलाले २००७ सालमा वीपीले पहिलो पटक संविधानको विचार उठान गर्नुभएको बताउनुभयो ।

“जनताको साझा संविधानको विषय वीपीले पहिला कुरा उठाउनुभएको थियो”, नेता सिटौलाले भन्नुभयो, “त्यो सपना साकार भएको छ, यो एउटा ठूलो उपलब्धि हो, कांग्रेसका लागि गर्वको विषय हो ।” तथापि, नयाँ संविधान निर्माणमा सबै दलको उत्तिकै महत्वपूर्ण समेत रहेको उहाँले बताउनुभयो ।

कम्युनिस्ट दलहरुले समाजवादको मात्र कुरा गर्ने गरेको उल्लेख गर्नुहुँदै उहाँले कांग्रेस लोकतान्त्रिक समाजवादको भएको बताउनुभयो । “लोकतन्त्रबाहेक समाजवाद हुँदैन”, उहाँले भन्नुभयो, “कांग्रेस र कम्युनिस्टहरुको समाजवाद छुट्टाछुट्टै छ ।” समाजवादमा केन्द्र हावी हुने र लोकतान्त्रिक समाजवादमा जनताको भावना हुने उहाँको भनाइ छ ।

गरीब, विपन्न, निमुखाको पक्षमा काम गर्ने वीपीको चाहना र विचार भएको बताउँदै उहाँले भन्नुभयो, “उनीहरुको पक्षमा काम गर्न सके त्यही नै वीपीप्रतिको सच्चा श्रद्धाञ्जली हुन्छ ।” जनताको कुरा सुन्न र काम गर्न उहाँले सबै नेता–कार्यकतालाई आग्रह गर्नुभयो । क्षमता अनुसार जनतालाई अघि बढ्ने वातावरण सरकार निर्माण गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो ।

लोकतान्त्रिक समाजवादबाट गरीब जनतालाई अघि बढाउने जिम्मेवारी कांग्रेसको काँधमा रहेको उहाँले बताउनुभयो ।

“सरकारमा भए पनि नभए पनि, प्रधानमन्त्री बनाएर पनि अन्य दललाई लोकतान्त्रिक समाजवादको यात्रा सँगसँगै हिँडाउनुपर्ने दायित्व कांग्रेसको हो”, उहाँले भन्नुभयो ।

शक्तिले मान्छेलाई अन्धो बनाउने बताउँदै उहाँले त्यो सबै दलमा व्याप्त भएको जिकिर गर्नुभयो । “शक्ति जनताबाट प्राप्त हुन्छ, जनता नै त्यसको आधार हो”, उहाँले भन्नुभयो, “जनताबाट आर्जन भएको शक्ति जनताकै हितमा प्रयोग गर्नुपर्छ, जनताको हित गर्ने स्वार्थ राख्नुपर्छ ।”

कार्यक्रममा प्रजातान्त्रिक आन्दोलनका दुई योद्धा र शहीद परिवारको सदस्यलाई सम्मान गरिएको छ । कांग्रेसको सशस्त्र क्रान्तिमा सहभागी भई कारावासमा समेत पर्नुभएका बाह्रदशी गाउँपालिका–५ का बाबुलाल टुडू, प्रजातन्त्र सेनानी हल्दिबारीका अमृतबहादुर आङ्दम्बे र कचनकवल–७ बालुबाडीका शहीद चन्द्रमणि भट्टराईकी पत्नी सीतादेवी भट्टराईलाई सम्मान गरिएको हो ।

 

कांग्रेस झापा क्षेत्र नं. ३ का सभापति गणेश पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य गोमा भट्टराई, झापाका कार्यवाहक सभापति केशव पाण्डे, कचनकवल गाउँ समिति सभापति तुलाराम अधिकारी, हल्दिबारी सभापति गंगाप्रसाद प्रसाईं, भद्रपुर सभापति राम कँडेल र बाह्रदशी गाउँ समिति सभापति इन्द्र बस्नेतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा पार्टीका चन्द्रमणि खरेलले स्वागत गर्नुभएको थियो भने सञ्चालन क्षेत्रीय सचिव गीताप्रसाद भट्टराईले गर्नुभएको थियो । कार्यक्रममा प्राध्यापक कृष्ण मैनालीले समाजवादमा वीपी सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने भक्त परियारले शहीद सम्बन्धी रचना प्रस्तुत गर्नुभएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)