झापा। झापाको शिवसताक्षी नगरपालिका–११ स्थित सतासी खोलाको शाखा कल्भर्टमा फाइबर जडानका क्रममा खाल्डोमा काम गरिरहेका एक मजदुरको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ।
प्रहरीका अनुसार आज दिउँसो करिब २ बजेर १० मिनेटको समयमा एनसेलका लागि फाइबर जडान गर्न बनाइएको जमिनमुनिको खाल्डोमा काम गरिरहेका सिराहा जिल्ला, लाहान नगरपालिका निवासी अन्दाजी ३५ वर्षीय रमेश कुमार यादव एक्कासी साइडको माटो भत्किँदा पुरिएका थिए।
घटनामा गम्भीर घाइते भएका यादवलाई स्थानीयको सहयोगमा तत्काल एम्बुलेन्समार्फत उपचारका लागि दमक अस्पताल पुर्याइएको थियो। तर उपचारकै क्रममा दिउँसो करिब ३ बजेर ३५ मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। मृतकको शव सोही अस्पतालमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1

















