हल्दीबारी । झापाको हल्दीबारी गाउँपालिका–२ स्थित सीग्मा अङ्ग्रेजी विद्यालयको ३०औँ वार्षिक उत्सव तथा अभिभावक दिवस आज विशेष कार्यक्रमका बीच सम्पन्न भएको छ ।
हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद पराजुलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति दिएका थिए भने सम्मान कार्यक्रम पनि आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि लिङ्देन, केन्द्रीय प्याब्सनका सल्लाहकार तथा विभूति विद्यामन्दिरका प्रिन्सिपल निर्देशक गोविन्द लम्साल, हल्दीबारी माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक नरेन्द्रकुमार कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
उक्त अवसरमा विद्यालयमा ३० वर्ष सेवा गरी शैक्षिक अवकाश लिनु भएका शिक्षक माधव भट्टराईलाई सम्मान गरिएको थियो । यस्तै, विद्यालयको कक्षा ५ मा अध्ययनरत विद्यार्थी निर्देशिका आछामीलाई ‘भ्वाइस अफ क्रिक सिजन–४’ गायनतर्फको रियालिटी शोमा सेमिफाइनलसम्मको यात्रा तय गरेको योगदानका लागि कदरपत्र र प्रशंसापत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा ‘भवदेवी उत्कृष्ट छात्रा पुरस्कार’ अन्तर्गत शैक्षिक सत्र २०८० का लागि बिमला ओली र २०८१ का लागि रक्षा राईलाई नगद १०–१० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको विद्यालयले जनाएको छ ।
त्यसैगरी, तत्कालीन जलथल गाविस (हाल हल्दीबारी गाउँपालिका–४) स्थित महेन्द्र माध्यमिक विद्यालयको भवन निर्माणका क्रममा निधन भएका स्वर्गीय चन्द्रप्रसाद उप्रेतीलाई ‘मरुणान्त शिक्षा सेवा पुरस्कार’ प्रदान गरिएको थियो । उहाँकी धर्मपत्नी अम्बिका उप्रेतीलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
विद्यालयका प्रिन्सिपल नरेश पराजुलीले विद्यालयले विगत ३० वर्षमा समाजमा खेलेको भूमिका, भोगेका चुनौती र प्राप्त सफलताका साथै अभिभावकको सहयोगबारे चर्चा गरेका थिए । सहायक प्रिन्सिपल नेत्रप्रसाद लुइँटेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण शिक्षक गोपाल गौतमले गरेका थिए ।
कार्यक्रममा हल्दीबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, वडा नं. २ का अध्यक्ष शुक्लाल राजवंशी, वडा नं. १ का अध्यक्ष देवीबहादुर थापा, वडा नं. ४ का अध्यक्ष सन्तकुमार थापा, जनप्रतिनिधि, अभिभावक, पूर्वविद्यार्थी तथा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो ।
सीग्मा अङ्ग्रेजी विद्यालयको ३०औँ वार्षिक उत्सव सम्पन्न
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1

















