
हल्दीबारी गाउँपालिका वडा नं. ३ स्थित सुरेश्वर स्वर्गद्वारी शिवालय मन्दिरमा आयोजित सप्तव्यापी महापुराण तथा महायज्ञ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। माघ २६ गतेदेखि सुरु भएको धार्मिक अनुष्ठान फागुन ४ गते विशेष समापन समारोहका बीच विधिवत् रूपमा सम्पन्न गरिएको हो।
समापन कार्यक्रमका प्रमुख अतिथि वडा नं. ३ का विष्णुप्रसाद ओली रहनुभएको थियो। कार्यक्रमको अवसरमा मन्दिर समितिले सात दिनसम्म व्यासमा बसी पुराण श्रवण गराउनु हुने आचार्य पण्डित ओमकार आनन्द र रोहित ढुङ्गानालाई सम्मानपत्र दोसल्ला द्वारा सम्मान गरेको थियो।
त्यसैगरी, समाजका ज्येष्ठ नागरिकहरू पवित्रा वाई थपलिया,जित नारायण कन्दङवा, मानबहादुर तेयुङ्ग, तुलसीबहादुर भण्डारी, सूर्यकुमारी सुवेदी, तुलसा ढुङ्गेल, दानबहादुर गिरी, मुक्तिनाथ ढुङ्गेल, पवित्रा गिरी, भक्तबहादुर वन र पवित्रा देवी उप्रेतीलाई बुढेसकालको सहाराका रूपमा लठ्ठी र छाता वितरण गर्दै दोसल्ला ओढाएर विशेष सम्मान गरिएको थियो।
कार्यक्रममा मन्दिरको विकास र महायज्ञ सफल पार्न योगदान पुर्याउने सहयोगी दाता, ग्रिल दाता, उत्कृष्ट पेवर्स बिछ्याउने सहयोगी तथा उत्कृष्ट आर्थिक सहयोग गर्ने दाताहरूलाई पनि प्रमाणपत्र र दोसल्लासहित सम्मान गरिएको थियो।
समारोहमा प्रमुख अतिथि ओली र रणकाली सामुदायिक वनका अध्यक्ष धनबहादुर सावाले धार्मिक सहिष्णुता कायम राख्दै वर्षेनी धार्मिक अनुष्ठान आयोजना गरिरहेको मन्दिरको प्रशंसा गर्नुभएको थियो। आचार्य पण्डित ओमकार आनन्दले भक्तजनबाट प्राप्त आत्मीय माया र सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै मन्दिर समितिसँगको सहकार्यमा पुराण वाचन गर्न पाएकोमा खुसी व्यक्त गर्नुभएको थियो।
मन्दिर समितिका अध्यक्ष गोविन्दबहादुर बोहोराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत तथा विदाई मन्तव्य उपाध्यक्ष लालबहादुर कन्दङ्वाले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन तथा सहजीकरण सचिव अभिषेक खतिवडाले गर्नुभएको थियो।
भक्तजनबाट प्राप्त नगद तथा जिन्सी सामग्री धान, चामल लगायतका सहयोगको आयव्यय विवरण मन्दिर समितिले छिट्टै सार्वजनिक गर्ने जनाएको छ।

















