हल्दिबारी, साउन १७ । हल्दिबारी गाउँपालिका–२ अन्तर्गत पाराखोपी बजारदेखि भजनचोकसम्मको क्षेत्रमा आज दोस्रो हप्ताको सरसफाइ अभियान सफलता पूर्वक सम्पन्न गरिएको छ। स्थानीय युवाहरूको सक्रिय सहभागिता र वडा कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रमले क्षेत्रको फोहोर व्यवस्थापन, झारपात सफाइ तथा सडक छेउछाउको सरसफाइमा महत्त्वपूर्ण योगदान पुर्याएको छ।

कार्यक्रममा हल्दिबारी गाउँपालिका वडा २ का का.वा. अध्यक्ष रचना कुलुङ्ग, वडा सदस्यहरू विष्णु राई , गणेश मगर, हल्दिबारी गाउँकार्यपालिका सदस्य विजय राजवंशी, उद्योग वाणिज्य संघ हल्दिबारीका अध्यक्ष सुमन मैनाली, महासचिव कृष्ण प्रसाईं, भेलागढी सामुदायिक वन उपभोक्ता समूहका सचिव खकेन राजवंशी, नेपाल रेडक्रस सोसाइटी हल्दिबारी उपशाखाका सभापति कर्णाखर प्रसाईं, युवा व्यवसायी एवं समाजसेवीहरू कुमार कार्की, कुमार भण्डारी, संजिव पौडेल लगायत उल्लेख्य संख्यामा स्थानीयवासीहरूको सहभागिता रहेको थियो।


सफाइ कार्यक्रम विशेष रूपमा पाराखोपी बजारदेखि भजनचोकसम्म केन्द्रित रह्यो। सहभागीहरूले सडक छेउछाउको फोहोर, झारपात तथा बोटबिरुवाहरूको व्यवस्थापनमा श्रमदान गरे। साथै, गत वर्षको बाढीले क्षति पुर्याएको देउनिया खोला पश्चिमको बाटोमा बालुवा भर्ने कार्य समेत सम्पन्न गरिएको थियो।
वडा सदस्य विष्णु राईका अनुसार, सरसफाइ अभियानलाई निरन्तरता दिँदै आउँदो शनिबार भजनचोकदेखि भुतेनी खोलासम्म र पाराखोपी बजार उत्तर बिर्तामोडको सिमाना सम्म सफाइ कार्य अगाडि बढाइनेछ।
कार्यक्रममा विभिन्न सहयोगहरू पनि प्राप्त भएका थिए। संजिव पौडेलले झार काट्ने सिक्कल, भवानी शिवाकोटीले खानेपानी, कुमार कार्कीले खाजा, राम गिरीले बालुवा बोक्न ट्याक्टर, र तारा प्रकाश डाँगीले JCB र ट्याक्टर उपलब्ध गराएका थिए।

स्थानिय युवाहरूको अग्रसरता र जनप्रतिनिधिहरूको सहकार्यमा अगाडि बढाइएको यो अभियानले समुदायमा सरसफाइप्रतिको चेतना अभिवृद्धि गर्ने विश्वास गरिएको छ। स्थानीय तहको यस्ता पहलले दीर्घकालीन रूपमा स्वच्छ र सुन्दर वातावरण निर्माणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।