जिल्लामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै ग्रामीण क्षेत्रमा क्रियाशील पत्रकारहरूले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै बृहत् रक्तदान कार्यक्रम आयोजना गरेका छन्।
‘रक्तदान, जीवनदान, महादान’ भन्ने मूल नाराका साथ ग्रामीण प्रेस क्लब झापाको आयोजनामा हल्दीबारी गाउँपालिका–१ स्थित गोलधाप बजारमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा स्थानीय युवा, समाजसेवी तथा सर्वसाधारण गरी ४१ जनाले रक्तदान गरेका छन्।

नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र भद्रपुरको प्राविधिक सहयोगमा ४१ युनिट रगत सङ्कलन गरिएको आयोजकले जनाएको छ। अस्पतालहरूमा रगतको अभावका कारण बिरामी र उनीहरूका आफन्तले समस्या भोग्नुपरेको अवस्थामा कार्यक्रमले आवश्यक रगत उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

स्थानीयस्तरमा स्वास्थ्य चेतना अभिवृद्धि गर्नुका साथै मानवीय सेवाभावलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न संघ–संस्थाहरूको समेत उल्लेखनीय सहयोग रहेको थियो। फाल्गुनन्द टोल हल्दीबारी–१ ले सह–आयोजकको भूमिका निर्वाह गरेको थियो भने धौलागिरी पारिजात बहुउद्देशीय सहकारी संस्था र श्री पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समितिले सहयोगी संस्थाका रूपमा साथ दिएका थिए।

त्यसैगरी सम्स्कारा शिक्षा सदन र राष्ट्रिय फोटो पत्रकार समूह झापा शाखा र युवा व्यवसायी असीम मैनालीले कार्यक्रमको व्यवस्थापन तथा प्राविधिक पक्षमा सहकार्य गरेका थिए।

नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र भद्रपुरका प्राविधिक टोलीका अनुसार अस्पतालहरूमा रगतको माग बढिरहेका बेला यस्ता कार्यक्रमले बिरामीहरूको जीवन रक्षामा महत्वपूर्ण योगदान पुर्याउनेछ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण रक्तदाता, सह–आयोजक, सहयोगी संस्था, स्थानीयवासी तथा प्राविधिक टोलीप्रति ग्रामीण प्रेस क्लब झापाले धन्यवाद तथा आभार व्यक्त गरेको छ।



















