सम्पादकीय – जेन जीले सुरु गरेको आन्दोलनका कारण देशभर सरकारी संरचना ध्वंस भई खरबौँको क्षति पुगेको छ। तर झापाको हल्दीबारी गाउँपालिका भने अपवाद सावित भएको छ। यहाँ आन्दोलन भए पनि सार्वजनिक संरचना सुरक्षित रहे।
हल्दीबारीका युवाहरूले र्याली र कोणसभा आयोजना गरे, तर कुनै तोडफोड भएन। यसलाई सम्भव बनाउन स्थानीय राजनीतिक दल, सामाजिक अभियन्ता, उद्योग वाणिज्य सङ्घ, रेडक्रस, जेसिस तथा सञ्चारकर्मीहरूको उल्लेखनीय योगदान रहेको देखिन्छ।

देशका धेरै पालिकामा वडा कार्यालयदेखि आधारभूत संरचना ध्वंस हुँदा हल्दीबारीमा नागरिकहरूको सुझबुझ र संयमित व्यवहार निर्णायक सावित भयो। केही उच्छृङ्खल समूहहरूले हल्दीबारीलाई पनि रणभूमि बनाउन खोजे तर जेन जीका युवाहरूले शान्तिपूर्ण आन्दोलनलाई निरन्तरता दिँदै त्यस्तो प्रयासलाई रोकिदिए।
विशेषज्ञहरू भन्छन् — “हल्दीबारीले अहिलेको आन्दोलनलाई एउटा पाठ सिकाएको छ: आफ्नो ठाउँ आफैं बनाउनुपर्छ, आफ्नो सुरक्षा आफैं गर्नुपर्छ।” शान्त रहनुमा जनप्रतिनिधिभन्दा बढी नागरिकहरूको सामाजिक जिम्मेवारी र साझा भावना नै मुख्य कारक बनेको देखिन्छ।
अब हल्दीबारीलाई अझ नमुना पालिका बनाउन जिम्मेवारी हरेक नागरिकको काँधमा आएको छ। स्थानीय सरकारको संरचना कमजोर भइसकेकाले नयाँ परिस्थिति अनुसार अगाडि बढ्न सक्ने नेतृत्व आवश्यक देखिएको छ।
यससँगै हल्दीबारीभित्र रहेको एसियाकै जैविक विविधताले भरिएको जलथल जङ्गल जोगाउनु पनि हाम्रो कर्तव्य हो। हालको अस्थिर अवस्थाको फाइदा उठाउँदै केही तस्करहरूले रुख कटान सुरु गरेको भन्ने खबर आएको छ। यसप्रति सबै सचेत रहनुपर्छ र हल्दीबारीको मुटु बनेको यो जलथलजङ्गललाई जोगाउनु हाम्रो साझा जिम्मेवारी हो।